Sagun Khabar
फाया नेपालको अध्यक्षमा आचार्य चयन 

कैलाली –लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील संस्था फाया नेपालको अध्यक्षमा गोमा आचार्य चयन भएकी छन् । बुधबार कैलालीको धनगढीमा सम्पन्न भएको फाया नेपालको २७ औं बार्षिक साधारण सभाले आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । 

समितिको सचिवमा दिलबहादुर कुँवर, कोषाध्यक्षमा ज्योती श्रेष्ठ,सदस्यहरुमा सूर्यमाया श्रेष्ठ, विष्णु पुरी, भागिराम चौधरी र बिन्दु ओझा सर्वसम्मत रुपमा चयन भएका फाया नेपालका कार्यक्रम संयोजक लालबहादुर महराले जानकारी दिए । 

२०५१ सालमा स्थापना भएको संस्थाले पहिलो पटक महिला नेतृत्व पाएको हो । महिलामाथि हुने हिंसा र सामाजिक असमानता हटाइ महिला सशक्तीकरण र युवा जागरणको उद्देश्य लिएर स्थापना भएको संस्थाले लामो समयदेखि विभिन्न क्षेत्रमा काम गर्दै आएको महराले बताए ।

Atrya hospital

फाया नेपालले समान कामको समान ज्याला, छाउपडी, मुक्त कमैया, विधुवा महिलाको बाध्यात्मक पहिरन लगायतका सामाजमा रहेका हानिकारक प्रचलन हटाउनका लागि ३० बर्षदेखि काम गर्दै आएको छ । अहिले पनि संस्थाले स्वास्थ्य, शिक्षा,जीविकोपार्जन,विपद्जोखिम न्यूनीकरण, महिला सशक्तीकरण र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएको बार्षिक साधारण सभामा जानकारी दिइएको छ । 

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की प्रमुख आतिथी रहेको साधारण सभामा प्रदेशसभा सदस्य धर्मराज पाठक विशिष्ट अतिथी रहेका थिए । 

साधारण सभामा बोल्दै मन्त्री सार्कीले फाया नेपालजस्ता नागरिक संस्थाहरुले समाजमा पछि परेका नागरिक र समुदायलाई मूलधारमा ल्याउन महत्वपूर्ण योगदान गरेको बताए । उनले भने ‘फाया नेपालले अहिले पनि विभिन्न क्षेत्रमा काम गरिरहेको छ । यी कामहरुले सरकारलाई सहयोग पुगेको छ ।’  

साधारण सभामा बोल्दै प्रदेश सभा सदस्य धर्मराज पाठकले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जनाका लागि नागरिक संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको बताए । फाया नेपालले विगतदेखि समाज सुधार र परिवर्तनका लागि काम गरेको उनले बताए । 

बार्षिक साधारणमा सभामा सहभागी कैलालीको चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले फाया नेपाल स्थानीय सरकारको साझेदार संस्था भएको बताए । स्वास्थ्य,शिक्षा र पोषणका क्षेत्रमा संस्थाले गरेको कामले महत्वपूर्ण सहयोग पुगेको उनले बताए । 

फाया नेपालले अहिले पनि विभिन्न सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसंगको साझेदारीमा काम गरिरहेको कार्यक्रम संयोजक महराले बताए । 

साधारण सभाले गत आर्थिक बर्षको ८ करोड ५० लाख ४ हजार २सय ९३ रुपैयाँ बराबरको आयव्यय विवरण र चालु आर्थिक बर्षको ८ करोड ७५ लाख ३० हजार ३ सय ५९ रुपैयाँ बराबरको अनुमानित बजेट पारित गरेको छ । 

साधारण सभामा बोल्दै नवनिर्वाचित अध्यक्ष आचार्यले फाया नेपालले लामो समयदेखि महिला सशक्तीकरणको क्षेत्रमा काम गरिरहेको र आफ्नो कार्यकालमा यसलाई थप उचाईँमा पुर्याउने बताइन् । सबै पक्षसंगको सहकार्यमा संस्थाको लक्ष्य र उद्देश्य अनुसारको काम गर्ने उनले प्रतिबद्धता समेत व्यक्त गरिन् । 

2a-1724901300.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update