Sagun Khabar
भारतीय प्रधानमन्त्री मोदीसंग परराष्ट्रमन्त्री राणाको भेट 

काठमाण्डौ – भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छन् । नयाँ दिल्लीमा रहेको प्रधानमन्त्री निवासमा हिजो बेलुका भएको भेटमा परराष्ट्रमन्त्री राणा र प्रधानमन्त्री मोदीबीच नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको छ । साथै मन्त्री राणाले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी छन् । 

भेटपछि सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटरमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तोपत्र मोदीलाई हस्तान्तरण गरेको जानकारी दिएकी छन् । भेटका क्रममा नेपाल–भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

Atrya hospital

नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीका तर्फबाट शुभकामनासमेत सुनाएको उल्लेख छ । मोदीले निमन्त्रणाप्रति धन्यवाद व्यक्त गर्दै चाँडै नै नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गरेका छन् । 

त्यसअघि हिजो मन्त्री डा.राणाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेकी थिइन् । भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री राणा आइतवार भारतको औपचारिक भ्रमणमा गएकी हुन् । उनी पर्सि भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।  
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update