Sagun Khabar
बैतडीमा किसानहरुलाई मकैबाली जोगाउनै मुस्कील 

बैतडी–मकै उत्पादनका लागि बैतडी पकेट क्षेत्र मानिएपनि जंगली जनावरबाट मकैबाली जोगाउन किसानहरुलाई धौ –धौ भएको छ । दिउँसो बाँदर र रातिको समयमा जंगली बँदेल, भालु, दुम्सी लगायतका जंगली जनावरबाट मकैबाली जोगाउन मुस्किल भएको दशरथचन्द नगरपालिका ८ की सुमित्रा चन्दले बताइन् । 

जंगली बँदेलले मकैबाली पूर्ण रुपमा नष्ट गरिसकेको सुर्नया –६ धुलिधारका गोविन्द अवस्थीले बताए । जंगली बँदेलको बथानमा खेतमा लगाएको मकैबाली पूर्ण रुपमा नष्ट गरेको उनले बताए । उनले भने ‘पहरा दिँदा समेत मकैबाली जोगाउन सकिएको छैन् । खेत नै रित्तो बनाइसकेको छ ।’

Atrya hospital

जिल्लाको सुर्नया गाउँपालिका ४ का भुवनबहादुर चन्दले रातदिन पहरा दिँदा समेत मकैबाली जोगाउन नसकिएको बताए । दिनमा बाँदर र रातिको समयमा जंगली बँदेलले मकैबाली नष्ट गर्ने गरेको उनले बताए । खेतमै टहरा बनाएर पहरा दिँदा समेत मकैबाली जोगाउन नसकिएको उनले बताए । उनले भने ‘मकैबाली जोगाउन मुस्किल भएको छ । बारीमा लगाएको मकै सबै खाइसकेको छ ।’

रातिको समयमा मात्रै आउने जंगली बँदेल अब दिउँसै बारीमा आउन लागेका पाटन नगरपालिका ३ ढुंगेलीका मोहन पन्तले बताए । बारीमा जंगली बँदेलले दिउँसै आएर मकैबाली नष्ट गरेको उनले बताए । उनले भने ‘जंगली बँदेलले रातिको समयमा मात्रै नभएर पछिल्लो समयमा दिउँसोको समयमा समेत मकै खाइरहेका छन् । बँदेलबाट मकैबाली जोगाउन मुस्किल भएको छ ।’

जिल्लाको पुर्चौंडी क्षेत्रमा पनि जंगली बँदेलले मकैबाली नष्ट गरिरहेको स्थानीय नरबहादुर महराले बताए । रातिको समयमा पहरा दिँदा समेत बाली जोगाउन नसकिएको उनले बताए । 

बैतडीका तल्लोसोराड, च्वाँगढ, पुर्चौंडी, पाटन, सुर्नया, दोगडाकेदार लगायत सबै ठाउँमा जंगली जनावरले मकैबाली नष्ट गरेको किसानहरुले बताएका छन् । रातिको समयमा पहरा दिँदा समेत मकैबाली जोगाउन नसकिएको सुर्नया ४ का स्थानीय रामबहादुर महराले बताए । 

बैतडीमा १० हजार ५ सय ६० हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ । पहिला १२ हजार २ सय हेक्टर जमीनमा मकै खेती गरिँदै आएकोमा पछिल्लो बर्षहरुमा मकै खेती गर्ने किसानहरुको संख्या घट्दै गएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update