Sagun Khabar
पाटनमा लामखुट्टेको लार्भा खोजी गरी नष्ट गरिँदै 

बैतडी–बैतडीको पाटन नगरपालिकाका विभिन्न स्थानमा डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जारी रहेको छ । 

केही दिन पहिला स्वास्थ्य कार्यालयले डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेको थियो । उक्त अभियानलाई निरन्तरता दिँदै नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुले डेंगु नियन्त्रणका लागि पहल गरिरहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । 

लामुखुट्टेको टोकाइबाट डेंगु सर्ने भएकाले यसको नियन्त्रणका लागि अभियान जारी रहेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख प्रेमसागर भट्टले जानकारी दिए । लामखुट्टेको लार्भा हुन सक्ने ठाउँको खोजी गरी नष्ट गर्ने अभियान जारी रहेको उनले बताए । 

Atrya hospital

वडा नं ८ स्थित सिद्धेश्वर स्वास्थ्यचौकीले पनि अभियान सञ्चालन गरिरहेको स्वास्थ्यचौकी प्रमुख जयराज भट्टले जानकारी दिए । यसका साथै डेंगु रोगका बारेमा आमनागरिकलाई जानकारी दिने गरिएको उनले बताए । 

यस्तै वडा नं ९स्थित टकरे आधारभूत स्वास्थ्य सेवा केन्द्रले सेवा क्षेत्रभित्र लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेको स्वास्थ्य सेवा केन्द्र प्रमुख प्रकाश भट्टले बताए । यस्तै डेंगु रोगको बारेमा स्थानीय सरोकारवालाहरुलाई जानकारी गराइएको उनले बताए । 

पाटन नगरपालिकामा यो महिनामात्रै अहिलेसम्म ८ महिला र १पुरुष गरी ९ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । यस्तै एक जनामा मलेरिया पुष्टि भएको छ ने ५६ जनामा स्क्रब टाइफस पुष्टि भएको छ ।

एडीज जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण फैलिने भएकाले यो रोगबाट बच्ने उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । 

अहिले जिल्लाभरी लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा रहेकाले यो अभियान सरीक हुन स्वास्थ्य कार्यालयले सबैमा आग्रह समेत गरेको छ । 

डेङ्गु भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि लक्षण देखापर्ने गर्दछन् ।

डेंगुबाट बच्नका लागि व्यक्तिगत र वातावरणीय सरसफाइमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, पानी जमेको भाँडाकुडा सफा गर्नुपर्ने, धेरैदिन सम्म पानी जमा गरेर नराख्ने लगायतका कुराहरुमा ध्यान दिनुपर्ने स्वास्थ्य प्रमुख भट्टले बताए ।   
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update