Sagun Khabar
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीद्वारा शपथ ग्रहण 

कैलाली –सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

एमाले र कांग्रेसको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाह सुदूरपश्चिमका पाँचौ मुख्यमन्त्री हुन् ।

Atrya hospital

२०७९ माघ २६ मा मुख्यमन्त्री बनेका शाहले राजनीतिक समीकरण फेरिएपछि गत चैत २२ पदबाट राजीनामा दिएका थिए । एमाले र कांग्रेसको गठबन्धन बनेपछि शाह चार महिना नबित्दै फेरि सत्तामा फर्किएका हुन् ।

शपथ ग्रहण गरे लगत्तै मुख्यमन्त्री शाहले मन्त्रीपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसका दुई, एमालेबाट तीन र नागरिक उन्मुक्ति पार्टीबाट एक जना मन्त्री नियुक्त गरेका हुन् भने कांग्रेसबाट दुई र एमालेबाट एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।

मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कांग्रेसका मेघराज खड्काले सामाजिक विकास मन्त्री, बहादुरसिंह थापाले आर्थिक मामिला मन्त्री, एमालेका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा काननु मन्त्री र बिरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको शपथ लिएका छन् ।

कांग्रेसकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र एमालेकी निर्मलादेवी साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update