Sagun Khabar
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

कैलाली  – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । 

प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि भोलि साउन २० गते बेलुका ५ बजे भित्र दाबी पेस गर्न आह्वान गरेका हुन् । 

Atrya hospital

यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले हिजो पदबाट राजीनामा दिएका थिए । सत्तासमीकरण फेरिएसँगै एमाले सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवम् मुख्यमन्त्री सोडारी गएको असार २० गतेदेखि अल्पमतमा परेका थिए । उनी एक सय पाँच दिनसम्म मुख्यमन्त्री पदमा रहे ।

पछिल्लो चुनावपछि गठन भएको सुदूरपश्चिम प्रदेशसभाले अहिलेसम्म तीन मुख्यमन्त्री फेरबदल गरिसकेको छ । अब चौथो मुख्यमन्त्रीको चयन प्रक्रिया शुरु भएको छ ।

सोडारी नेतृत्वको सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को बजेट पारित हुन सकेको छैन । बजेट पारित नहुँदा साउन १ गतेदेखी प्रदेश सरकारको राजस्व सङ्कलन तथा खर्च गर्ने लगायतका गतिविधि ठप्प रहेका छन् ।  

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update