Sagun Khabar
कैलालीको नोभा हस्पिटलमा तनाव सिर्जना, ३ राउण्ड अश्रुग्यास प्रहार

कैलाली- कैलालीको नोभा हस्पिटल परिसर क्षेत्रमा तनाव सिर्जना भएको छ । सो हस्पिटलमा एक जना किशोरको मृत्यु भएपछि तनाव सिर्जना भएको हो । जन्डिस भएको भनेर साउन ७ गते भर्ना भएका कञ्चनपुरको बेलौरी–२ का १७ वर्षीय नसिभ चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको हो । सोही विषयलाई लिएर अहिले हस्पिटलमा तनाव भइरहेको छ । मृतकका आफन्तले अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको बताउँदै आएका छन । अहिले अस्पतालमा तनावको स्थिति उत्पन्न भएको छ ।

सामान्य स्वास्थ्य समस्या लिएर आएका चौधरीको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गर्न खोजेका हुन् । बेलौरीका नसिभ साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि नोभा अस्पताल आएका थिए । उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

Atrya hospital

नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाए । उनका अनुसार परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेका थिए । तर, अस्पतालले न त उचित उपचार गरिदियो, न त रिफर नै । यस्तै अहिले मृतको शव अस्पतालमै छ । उता अस्पताल प्रशासनले भने लापरबाही नरहेको बताएको छ । यस घटनाले अस्पताल परिसरमा तनावको स्थिति सिर्जना भएपछि प्रहरी खटिएको छ । आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन् । तर स्थिती सामान्य बन्ने अवस्था नदेखिएपछि प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

मृतकका आफन्त आक्रोशित भएर अस्पतालमा तोडफोड गर्न उत्रिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गरेको हो । अस्पताल बाहिर जम्मा भएका मृतका आफन्तले ढुङ्गामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि मृतकका आफन्त अहिले तितरबितर भएका छन् ।

 आफन्तले भने अस्पतालको लापरबाहीले मृत्युु भएको भन्दै शव बुझ्न मानेका छैनन् । उनीहरूले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।
 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update