बैतडी – बैतडीमा कोदो खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ । कोदो फल्ने ठाउँमा नै किसानहरुले खेती गर्न छाडि सकेका छन्। पहिलेका बुढापाखाहरुले कोदोको महत्व बुझेर खेतिगर्नेगरेका भएपनि अहिलेको युवा पुस्ताले चासो दिएका छैनन । प्रशस्त मात्रामा कोदो फल्ने जमीनमा अहिले अन्य खाद्यान्न बाली लगाइने गरेको छ । कोदोलाई औषधिका रूपमा समेत प्रयोग गरिनुका साथै पोषिलो तत्वका रूपमा समेत लिइन्छ। मादुरो, कोदो र जौँ लगायतका अन्नबाट बन्ने अधिकांश परिकारहरु घिउ, मोही र दुग्धजन्य पदार्थको मिश्रणबाट बन्ने भएकाले पनि भैंसीपालन घटेसँगै यो खेती पनि लोप भएको दशरथचन्द नगरपालिका एक का स्थानीय शिक्षक केशब दत्त भट्ट ले बताए ।
उनले भने केही बर्षअघिसम्म बैतडीको ग्रामीण क्षेत्र लगायत विशेषगरी दशरथचन्द, पाटन , शिवनाथ, पञ्चेश्वर, मेलौली, सिगास लगायतका ठाउँमा अधिकांश कृषकले कोदो खेती गर्दथें । तर अहिले यसको खेती पूरै विस्थापित हुने अवस्थामा पुगेको छ। कोदोको उत्पादन राम्रो भएपनि कृषकले हिजोआज खेती गर्न छाडेपछि विस्तारै गाउँघरमा कोदो खेती कम हुँदै गएको हो । कृषकले कोदो खेती गर्न छाडेपछि अहिले केही स्थानमा बीउसम्म पाउन मुस्किल हुन थालेको छ । केही किसानले फाट्टफुट्ट कोदो खेती गरेपनि घरायसी प्रायोजनका लागि मात्र गरेको पाइन्छ। अन्य बालीभन्दा कोदोबाली स्वास्थ्यका लागि लाभदायक मानिन्छ। कोदो रोटी र ढिँडोका लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहनका लागि भन्दै शहरी क्षेत्रका मानिसले यसका परिकार खाने गर्दछन्। तर कोदो खेती गर्ने किसानको सङ्ख्या दिनहुँ घट्दै गएको छ।
बालबालिका, गर्भवती, सुत्केरी महिलाका लागी निकै फाइदाजनक रहेका बाली नै लोप हुन थालेकाले ग्रामीण क्षेत्रमा पोषकतत्व पाइने खाद्यान्नको कमी आउन थालेको पाटन नगरपालिका का स्थानीय कृषक कृष्ण पन्त को भनाइ छ। समयसँगै कृषिगर्ने तरिका परिवर्तन भयो। खेती गरिने बालीनाली पनि परविर्तन हुँदै गएका छन् । कोदो, मादुरो, जौँ खेतीबाट धान र मकै बालीबाट जस्तो आर्थिक लाभ नहुनाले पनि यी बाली लोप हुँदै गएको किसानहरू बताउँछन्। “पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुन्थ्यो तर अहिले मुख्य खाना भातरोटी भएकाले कोदो खेती विस्थापित भएको छ । अहिले कोदोको रोटी, ढिँडोभन्दा भात नै खाने चलन बढदै जाँदा यसको खेती विस्थापित हुन पुगेको छ। “पहिला पहिला खेतमा लटरम्म फल्ने कोदो अहिले औषधिका लागि समेत भेट्टाउन मुस्किल भएको छ । अहिले शहरी क्षेत्रमा यसको अत्याधिक माग भए पनि उत्पादन घट्दै गएकाले कोदो पाउन मुस्किल भएको हो ।
औषधिका रूपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ। पहिला वर्षे खेतीका रूपमा लगाइने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको छ ।स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन् भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको सङ्क्रमण बढ्न थालेको जिल्ला अस्पताल बैतडीका डाक्टर सुशिल बिक ले बताए । पछिल्लो सयमा बैतडी सहित अन्य कोदो खेति गरिने जिल्लाको जमिन बाँझो रहन थालेको छ । बैतडी जिल्ला मा भने करिब ३ सय ४० हेक्टर क्षेत्रफलमा कोदो खेति गरिने भए पनि उत्पादन चार सय पछासी मेट्रीक टन हुने कृषि ज्ञान केन्द्र बैतडी ले जनाएको छ ।