Sagun Khabar
सुदूरपश्चिममा डेंगु संक्रमण बढ्दै 

बैतडी– सुदूरपश्चिममा डेंगु संक्रमण बढ्दै गएको छ । एडीस एजीप्टाइ जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेंगुको संक्रमण बढ्दै गएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पछिल्लो पाँच महिनामा प्रदेशका १ सय ६१ जनामा डेंगु संक्रमण भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

सबैभन्दा बढी डोटीमा ४९ जनामा डेंगु संक्रमण देखिएको छ भने अछाममा ३४, कञ्चनपुरमा २६ र बाजुरामा १५ जनामा डेंगु संक्रमण भेटिएको छ । 

Atrya hospital

यस्तै दार्चुलामा १३, कैलालीमा १२, डडेल्धुरामा ५, बझाङ ४ र बैतडीमा ३ जनामा डेंगु संक्रमण देखिएको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए । 

असारदेखि कार्तिकसम्म डेंगुको जोखिम बढी हुने भएकाले यसका बिरामीहरुको संख्या बढ्दै जाने अनुमान गरिएको छ । बर्षातको समयमा पानी जम्ने खाल्डाखुल्डी हुँदा लामखुट्टेको वृद्धि विकास बढी हुने र यसको टोकाइबाट मानिसमा डेंगु सर्ने जोशीले बताए ।

डेंगुको रोकथामका लागि हरेक बर्ष प्रदेशका सबै जिल्लामा लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’अभियान सञ्चालन हुने गरेको छ । लामखुट्टेको वृद्धि विकास हुने सम्भावित स्थानहरुको खोजी गरी लार्भा नष्ट गर्ने अभियान बैतडीमा पनि सञ्चालन गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । 

गत बर्षमात्रै डेंगुका कारण सुदूरपश्चिममा तीन जनाको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगको रोकथामको उपाय भएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

डेंगु संक्रमण भएमा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै नाक, गिजा पेटबाट रगत बग्नेजस्ता कडा खालका लक्षणसमेत देखा पर्ने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

यस्ता खालका लक्षण देखिएमा डेंगुको जाँच गर्नु आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । डेंगुको जाँच नगरीकनै जथाभावी औषधि सेवन गर्दा अन्य समस्या समेत निम्तिने भएकाले यो तर्फ सबै नागरिक सचेत हुनुपर्नेमा भट्टले जोड दिए । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update