Sagun Khabar
त्रिशूलीमा खसेका बस र यात्रुको अवस्था अझै अज्ञात

काठमाण्डौ– मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा हिजो बिहान लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र ती बसमा रहेका यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । हिजो दिनभर खोजे पनि नभेटिएपछि राति खोजी कार्य स्थगित गरिएको र आज बिहानैदेखि फेरि खोजी शुरु भएको चितवन प्रहरीले जनाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट तीन, चार किलोमिटर तलसम्म खोज्दा पनि बस र यात्रु नभेटिएको जानकारी दिए । उनले नदीमा पानीको प्रवाह उच्च र धमिलो भएका कारण खोज्न समस्या भएको बताए ।

Atrya hospital

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स  बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । उनकाअनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो ।

सिमलतालमा हिजो बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल डिलक्स बस र काठमाण्डौबाट गौरको लागि छुटेको गणपति डिलक्स बस पहिरोमा परेका हुन् । दुवै बसमा गरेर कम्तिमा ५० जना यात्रु रहेको अनुमान गरिए पनि यकिन विवरण प्राप्त भैनसकेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update