Sagun Khabar
प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत, सरकार ढल्यो

काठमाण्डौं –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत पाउन सकेनन् । विश्वासको मतका लागि भएको मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले ६३ मत मात्रै पाए । 

विश्वासको मतको विपक्षमा १९४ मत र एक जना तटस्थ बसे । प्रतिनिधिसभा बैठकमा कूल २५८ जना सांसद उपस्थित थिए । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहालले मागेको विश्वासको मत अस्वीकृत भएको घोषणा गरे । 

Atrya hospital

प्रचण्डलाई माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र एकीकृत समाजवादीका १० जना सांसदले मात्रै विश्वासको मत दिए । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विपक्षमा मतदान गरे । 

संसदमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले १८ महिनाको अवधिमा आज पाँचौ पटक विश्वासको मत लिएका हुन् । पछिल्लो पटक उनलाई समर्थन गरेको दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिनुपरेको हो । 

संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् । 

प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि प्रचण्डले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिएका थिए । प्रतिनिधिसभाका २७० जना सांसदमध्ये २६८ जनाले विश्वासको मत दिएका थिए । दुईजना सांसदले विपक्षमा मतदान गरेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update