Sagun Khabar
नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुई वटा बस बगायो

काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस  त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित झण्डै ६५  जना यात्रु रहेका प्रहरीले जनाएको छ । घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् ।

काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल बस त्रिशूलीमा खसेका प्रमुख जिल्ला अधिकारी यादवले बताए । प्रजिअ यादवकाअनुसार  गौर जाँदै गरेको बसमा ४१  र काठमाण्डौ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए । उनले ती बसमा रहेका यात्रुको  यकिन विवरण प्राप्त भइ नसकेको बताएका छन् । 

Atrya hospital

यसैबीच मुग्लिन–नारायणगढ सडकखण्डकै १७ किलोमा अर्को बसमा पहिरोबाट झरेको ढुङ्गाले लागेर चालकको ज्यान गएको छ । बिहान तीन बजे पहिरोबाट आएको ढुङ्गाले लागेर बसका चालकको निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । 

बुटवलबाट काठमाण्डौको लागि छुटेको लु २ ख ६५६६ नम्बरको बसमा ढुङ्गा लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको हो । 

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ । पहिरोले कालीखोला, सिमलताल र फिस्लिङमा सडक अवरुद्ध भएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०७:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update