Sagun Khabar
शुक्रवारपछिको  बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु 

काठमाण्डौ – शुक्रवार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म देशभर १६ जनाको मृत्यु भएको छ । बाढी पहिरोलगायतका विपद्जन्य घटनामा परेर अरू दुई जना बेपत्ता भएका छन् । १८ जना घाइते भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाण्डौमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेमा दुई, पाल्पामा एक, तनहुँमा तीन र दाङमा तीन जना गरी १६ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी दोलखा र स्याङ्जामा एक÷एक जना बेपत्ता भएका छन् ।

Atrya hospital

यस्तै अहिलेसम्म तनहुँमा पाँच, गुल्मीमा एक, ओखलढुङ्गामा दुई, काठमाण्डौमा तीन, चितवनमा एक र स्याङ्जामा छ जना गरी १८ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भारी वर्षाका कारण आज पनि देशभर जनजीवन प्रभावित भएको तथा कोशी, नारायणीलगायत ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ ।

काठमाण्डौ उपत्यकाका नदी, खोला किनारमा आज पनि प्रहरीले गस्ती तथा अनुगमन गरिरहेको छ । अविरल वर्षाका कारण उपत्यकाको नदीमा पानीको सतह बढेकाले सम्भावित जोखिमलाई ख्याल गरेर खोला किनारमा प्रहरीले गस्ती गरिरहेको केन्द्रीय प्रहरी प्रवक्ता कार्कीले बताए ।
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update