Sagun Khabar
बैतडीको तिरखडेनीमा नेपाल र भारतका जनप्रतिनिधिको सहभागितामा रोपाँई 

बैतडी – नेपाल र भारतका स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागितामा बैतडीको दशरथचन्द नगरपालिका वडा नं १० तिरखडेनी रोपाँई गरिएको छ । महाकाली नदीको पानी लिफ्ट सिँचाई प्रणाली मार्फत तिरखडेनीमा पुर्याएपछि पहिलो पटक रोपाँई गरिएको हो । 

साउन १५ को अवसरमा खीर खाएर नेपाल र भारतका जनप्रतिनिधिको सहभागितामा तिरखडेनीमा रोपाँई गरिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए । 

रुडेस बैतडीले अक्सफामको सहयोगमा सञ्चालन गरिरहेको ट्रोसा परियोजना र दशरथचन्द नगरपालिकाको संयुक्त लगानिमा तिरखडेनीमा सिँचाई सुविधा पुगेपछि पहिलो पटक रोपाँई गरिएको हो । 

Atrya hospital

सिँचाई अभावका कारण सधैं बाँझो रहने खेतमा रोपाँई गर्न पाएपछि निकै खुसी लागेको स्थानीय शान्ति बुडालले बताइन् । उनले भनिन् ‘अहिले सम्म हामी महाकाली नदीको पानी बगेको हेरर चित्त बुझाउँथ्यौं । अहिले खेतमा ल्याउन पाउँदा निकै खुसी लागेको छ ।’

गाउँमा सिँचाई सुविधा पुगेसंगै तिरखडेनीका बासिन्दाहरु एक बर्षमै तीनखेती गर्न थालेका छन् । अहिले मकै भाँचेर रोपाँई गरिएको स्थानीय जयन्ती चन्दले बताइन् । उनले भनिन् ‘हामीले गाउँमा पहिलो पटक तीन खेती गरेका छौं । हामी निकै खुसी भएका छौं ।’

रोपाइँ कार्यक्रममा बैतडीको दशरथचन्द नगरपाकिलाका नगर प्रमुख नरेन्द्रसिंह थापा, जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, नेपाली काँग्रेस बैतडीका उप सभापति चतुरबहादुर चन्द र भारतको पिथौरागढ जिल्लाको बलतडी ग्राम सभाका सभापति गोपी राम, सदस्य उमेशचन्द्र भट्ट लगायतको सहभागिता रहेको थियो । 

नगरपालिकाले स्थानीय गैरसरकारी संस्थासंग मिलेर ठूलो उपलब्धि प्राप्त गरेको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए । 

रोपाँई कार्यक्रममा सहभागी भारतको बलतडी ग्रामका सभापति गोपीरामले बाँझो जमीनमा सिँचाई सुविधा पुर्याएर हराभरा बनाउने कार्य निकै प्रशंसनीय भएको बताए । उनले भने ‘हामीले यो कामबाट प्रेरणा प्राप्त गरेका छौं ।’

कार्यक्रममा सहभागी नेपाली काँग्रेस बैतडीका उप सभापति चतुरबहादुर चन्दले लिफ्ट सिँचाई योजनाको दिगोपनामा जोड दिदैं महाकाली नदीको पानी पहिलो पटक नेपाली गाउँमा उपभोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update