Sagun Khabar
मनसुनमा १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान 

काठमाण्डौ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको मनसुनमा १८ लाखभन्दा धेरै मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको मनसुनबाट प्रभावित हुन सक्ने विवरणअनुसार यसपालीको मनसुनमा १८ लाख एक हजार भन्दा धेरै मानिस प्रभावित हुने अनुमान छ ।

प्राधिकरणका उपसचिव एवम् प्रवक्ता डा. डिजन भट्टराईले कूल चार लाख १२ हजार घरघुरीका १८ लाख एक हजारभन्दा धेरै मानिस कुनै न कुनै रुपमा प्रभावित हुने अनुमान गरिएको जानकारी दिए । उनका अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने र १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अवस्था आउने आँकलन गरिएको छ । यसपालिको मनसुनमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ ।

Atrya hospital

जल तथा मौसम विज्ञान विभागले यसपालि सरदर भन्दा धेरै पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहने आँकलन यसअघि नै सार्वजनिक गरिसकेको छ । नेपालमा जेठ अन्तिमतिर मनसुन भित्रिने र असोज मध्यसम्म रहने गर्छ । यस अवधिमा सबैभन्दा धेरै कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा मनसुनजन्य विपदबाट प्रभावित हुने अनुमान प्राधिकरणले गरेको छ ।

पानी धेरै पर्नु भनेको बाढी÷पहिरो र डुवानका घटना बढ्नु हो । मनसुन अवधीमा बाढी, पहिरोलगायतको जोखिम बढ्ने भएकाले क्षति घटाउन तत्कालै उचित योजना बनाइ तयारीमा जुट्न विज्ञले आग्रह गर्दै आएका छन् । विपत् न्यूनीकरण, उद्धार तथा राहतका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा कमान्ड सेन्टर स्थापना गरिने प्राधिकरणले जनाएको छ ।

काठमाण्डौ, सुर्खेत, इटहरी, भरतपुर र पोखरामा हेलिकोप्टर तयारी अवस्थामा राखिनेछ । हेलिकोप्टर परिचालन कमान्ड सेन्टरको नेतृत्व नेपाली सेनाले गर्नेछ । विपत् जोखिम न्यूनीकरणका लागि सङ्घ, प्रदेश र पालिकाले स्पष्ट प्रतिकार्य योजना तयार पारी विपत्को सामना गर्नुपर्ने सुझावअनुसार काम थालिएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०८:५९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update