Sagun Khabar
बैतडीको पुर्चौंडी नगरपालिका र १० ओटै वडामा तालाबन्दी 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिका र सबै वडा कार्यालयमा तालाबन्दी गरिएको छ । बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले नगरपालिका र वडा कार्यालयहरुमा तालाबन्दी गरेका हुन् । नेपाल सरकारले बजेट  भाषण मार्फत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याउने घोषणा गरेको भएपनि नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै तालाबन्दी गरिएको हो । 

नगरपालिका र १० ओटै वडा कार्यालयमा तालाबन्दी गरिएको र आफ्ना माग पूरा नहुँदा सम्म तालाबन्दी नखुल्ने लटिनाथ आधारभूत सलेलीगाउँमा कार्यरत बालविकास सहजकर्ता द्रोपती खत्रीले बताइन् । उनले भनिन् ‘हामी लामो समयदेखि कम बेतनमा काम गर्दै आईरहेका छौं । नेपाल सरकारले बजेट भाषण मार्फत तलब बढाउने घोषणा गरेको छ तर हाम्रो नगरपालिकाले तलब बढाएको छैन् । त्यसैले हामीले नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेका हौं ।’

Atrya hospital

यसअघि विद्यालय कर्मचारी र बालविकास सहजकर्ताहरुले तलब बढाउनुपर्ने माग गर्दै नगरपालिका ज्ञापन पत्र बुझाएको भएपनि कुनै सुनुवाई नभएपछि तालाबन्दी गरिएको खत्रीले बताइन् । 

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेको भएपनि जिम्मेवार प्रतिनिधिहरु नहुँदा छलफल समेत हुन सकेको छैन् । 

नगर प्रमुख र उपप्रमुख काठमाण्डौंमा छन् भने कार्यालय प्रमुख समेत बाहिर रहेको बताइएको छ । नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेको कुरा जानकारीमा आएको र तत्कालका लागि ताला खोल्न आग्रह गरिएको नगर उपप्रमुख जानकी ऐर बमले बताइन् । 

विद्यालय कर्मचारी र बालविकास सहजकर्ताको मागका बिषयमा कार्यपालिकाको बैठकमा छलफल गरिने उनले बताइन् । उनले भनिन् ‘नगरपालिकाले चालु आर्थिक बर्षमा २ हजारका दरले बालविकास सहजकर्ताको तलब बढाउने निर्णय गरेको छ । उनीहरुको माग १५ हजार पुर्याउनुपर्ने भन्नेछ । यो बिषयमा बसेर छलफल गरेर टुंगोमा पुगिन्छ ।’

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले नगरपालिकाले माग पूरा नगर्दा सम्म तालाबन्दी नखोल्ने अडान लिएका छन् । पुर्चौंडी नगरपालिकामा बालविकास सहजकर्ता र विद्यालय कर्मचारी १५१ जना रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update