Sagun Khabar
बैतडीमा असिना सहितको हावाहुरीले मकैबाली संगै धानको बेर्नामा क्षती

बैतडी - बैतडीमा केही दिनदेखि भइरहेको वर्षा र हावाहुरीले बैतडीका विभिन्न स्थानमा मकैबाली सहित धानको बेर्नामा क्षति पुर्‍याएको छ। जिल्लाको पाटन नगरपालिका, सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चौडी नगरपालिका सहितका विभिन्न स्थानमा वर्षा र हावाहुरीले क्षति पुर्‍याएको हो। 

पाटन नगरपालिका वडा नम्बर ०३ को खोला गैर र नयाँ सेरा का विभिन्न स्थानमा गोड्ने बेला भएको मकैबाली  र उम्रीन लागेको धानको बीउमा असिना सहित को हावाहुरी ले क्षति पुगेको स्थानीय किसान पप्पु राम बि.क ले बताए । 

Atrya hospital

वर्षा र हावाहुरीले गोड्ने बेलाको मकै र उम्रीन लागेको धान को बीउ सखाप पारेपछि किसानहरू चिन्तित बनेका छन्। यस्तै जिल्लाको पाटन नगरपालिकाका विभिन्न स्थानमा ढल निकासको उचित व्यवस्थापन हुन नसक्दा बेसि र खोज तिरका ठाउँहरुको मकैमा क्षति पुगेको स्थानीय कृषक बिष्णु दत्त भट्टले बताए। 
यसैबीच जिल्लाको मुख्य खाद्यबालीको रूपमा रहेको मकैमा क्षति पुगेपछि मकैको उत्पादन घट्ने अनुमान छ। हरेक वर्ष मकैबालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले मकैको उत्पादन घट्दै गएको छ। 

बैतडी मकै जोन क्षेत्र भए पनि विभिन्न कारणले मकैबालीमा क्षति हुँदै आएको छ। मकैबालीमा फौंजी किरा, जंगली जनावर लगायत विभिन्न प्रकोपले मकैबालीमा क्षति पुग्दै आएको कृषि ज्ञानकेन्द्र बैतडीले जनाएको छ। 

बैतडीमा १४ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा मकै खेती गरिँदै आए पनि विभिन्न कारणले मकैबालीमा क्षति हुने गरेको छ। मकै उत्पादनका हिसाबले जिल्लामा राम्रो उत्पादन हुने गरेकोमा विभिन्न कारणले उत्पादनमा ह्रास आउने गरेको कृषि ज्ञानकेन्द्र बैतडीका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दले बताए।  

पछिल्ला दुई तीन वर्षयता मकैमा फौंजी किराले नोक्सानी पुर्‍याउने गरेको छ भने वर्षातका वेला पनि क्षति हुने गरेको छ। यस्तै जंगली जनावरबाट समेत मकै जोगाउन निकै मुस्किल भएको किसानले बताएका छन्।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update