Sagun Khabar
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने सांसदलाई नाउपाले कारवाही गर्ने 

कैलाली –सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने दुई सांसदलाई नागरिक उन्मुक्ति पार्टीको संसदीय दलले कारवाही गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिएका आफ्नो दुई जना प्रदेश सभा सदस्यलाई कारवाही गर्ने जनाएको हो । 

नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू कैलाश चौधरी र टीका थापालाई कारबाही गर्ने दलले जनाएको छ । उनीहरु दुवै जनाले दलको ह्विपलाई बेवास्ता गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । 

दलको ह्विपलाई अटेर गरेर विश्वासका मत दिएका दुवै जनालाई कारबाही गरिने नाउपाका मुख्य सचेतक खुशीराम डङ्गौरा थारुले बताएका छन् । 

विश्वासका मत दिएका दुवै जना प्रदेश सभा सदस्य सत्तापक्षको बेन्चमा र सरकारको विपक्षमा रहेका पाँच जना प्रदेश सभा सदस्य प्रतिपक्षको बेन्चमा बसेका थिए । उनीहरूले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँगै सरकारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएका दुवै सदस्य नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ पक्षधर हुन् भने सरकारको विरोधमा रहेका पाँच जना सदस्य भने संरक्षक रेशमलाल चौधरी पक्षधर रहेका बताइएको छ । 

सरकारमा सहभागिताकै बिषयलाई लिएर रञ्जिता र रेशमबीच विवाद चर्किरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update