Sagun Khabar
बैतडीको दनपा २ ले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गर्यो 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालयले वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको छ । नेपाल सरकारले बैंक मार्फत भत्ता भुक्तानी गर्ने नियम बनाएपछि लाभग्राहीहरुको बैंकमा खाता खोलेर बैंकसंगको समन्वयमा वडा कार्यालयबाटै सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालिएको वडा अध्यक्ष रनबहादुर बोहराले बताए । 

जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई बैंकमा जान झण्झट हुने भएकाले आफूहरुले वडा कार्यालयबाटै भत्ता वितरण कार्य शुरु गरेको उनले बताए । लाभग्राहीहरुको एनएमबी बैंकमा खाता खोलेर बैंकका कर्मचारीलाई वडा कार्यालयमै बोलाएर भत्ता दिन शुरु गरिएको हो । 

Atrya hospital

तीनदिन सम्म वडा नम्बर २ का नागरिकलाई सामाजिक सुरक्षाभत्ता भत्ता वितरण गरिने वडा अध्यक्ष बोहराले बताए । उनले भने ‘नागरिकको समस्यालाई ध्यानमा राखेर हामीले वडा कार्यालयबाटै भत्ता वितरणको थालनी गरेका हौं ।यसले जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई सहयोग पुगेको हाम्रो विश्वास छ ।’

वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता बुझ्न पाउँदा सजिलो भएको दशरथचन्द नगरपालिका वडा नं २ का चन्द्रबहादुर बोहराले बताए । उनले भने ‘बैंकमा लाइन लाग्नुपर्ने झण्झट हटेको छ । वडा कार्यालयले गरेको यो निकै राम्रो काम हो ।’

सामाजिक सुरक्षाभत्ता बुझ्नका लागि गोठलापानी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको लाभग्राही तुलसी बोहराले बताइन् । उनले भनिन् ‘हाम्रो समस्यालाई बुझेर वडा कार्यालयले धेरै राम्रो काम गरेको छ । बैंकमा लाइन लाग्न हामीलाई धेरै समस्या हुने थियो ।’

वडा नं २ का नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरणका लागि दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा पनि देहीमाण्डौं पुगेका थिए । नागरिकलाई सहज तरीकाले सेवा प्रदान गर्न नगरपालिका लागिपरेको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update