Sagun Khabar
बैतडीको पाटनमा छाडा पशुचौपाया व्यवस्थापनमा चुनौती 
Atrya hospital

बैतडी –बैतडीको पाटन नगरपालिकाको पाटन बजार क्षेत्रमा छाडा पशुचौपाया व्यवस्थापन चुनौती बनेको छ । बजारमा छाडा पशुचौपायाका कारण फोहर बढ्दै गएको स्थानीयहरुले बताएका छन् । छाडा पशुचौपायाहरुले रातीको समयमा पसलका अगाडि फोहर गर्ने भएकाले समस्या भएको स्थानीय व्यापारी ध्रुव बिष्टले जानकारी दिए । उनले भने ‘बिहान पसल खोल्ने बेलामा गोबर सोहर्नु परेको छ । छाडा पशुचौपायाका कारण धेरै समस्या भएको छ ।’

स्थानीयहरुले जथाभावी पशुचौपाया छोड्ने भएकाले निकै समस्या भएको पाटन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले बताए । गाई दुहुनो छन्जेल घरमा राख्ने र त्यसपछि छोडीदिने गरेकाले समस्या भएको उनको भनाई छ । उनले भने ‘छाडा पशुचौपाया कसले छोडेका हुन् भन्ने कुरा नै थाहा हुँदैन् । यसमा नगरबासीले पनि सहयोग गर्नुपर्छ । छाडा पशुचौपाया छोड्नेको पहिचान भए कारवाही हुन्छ ।’ 

बजारमा कसले पशुचौपाया छोडेको हो भन्ने कुरा थाहा नहुँदा छाडा पशुचौपाया व्यवस्थापनमा चुनौती थपिएको उनले बताए । 
गत बर्ष व्यापारीहरुले छाडा पशुचौपाया नगरपालिकामै थुनेका थिए । छाडा पशुचौपायाको व्यवस्थापन नहुँदा बजार क्षेत्र दुर्गन्धित बन्दै गएको व्यापारीहरुले बताएका छन् । छाडा पशुचौपायाको समयमै व्यवस्थापन गर्न नसके समस्या बल्झिँदै जाने स्थानीय व्यापारी बिष्टले बताए । उनले भने ‘छाडा पशुचौपायाको समयमै व्यवस्थापन नभए यसले विकराल रुप लिँदै जानेछ ।’
 

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  ०९:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update