Sagun Khabar
बैतडीमा प्रधानमन्त्री रोजगार अन्तर्गत झण्डै ४ लाख झ्वाम पार्न खोजेपछि ...

बैतडी– बैतडीको पाटन नगरपालिका वडा नं ४मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको झण्डै चार लाख रुपैंया हिनामिना भएको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । डोडरखोलादेखि स्वास्थ्यचौकी र मङरौंधारादेखि सिउडे सम्मको बाटो निर्माणमा अनियमितता भएको उनीहरुको आरोप छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीयहरुलाई ७ लाख २ हजारको हाराहारी रकम वितरण गरेपनि उपभोक्ता समितिले नगरपालिकाबाट १० लाख ९७ हजार भुक्तानी लिएको छ । 

Atrya hospital

पाटन नगरपालिकाको रोजगार शाखामा कार्यरत प्राविधिक सम्राट चन्द र उपभोक्ता समिति अध्यक्ष गौरीदत्त भट्टको मिलेमतोमा रकम हिनामिना गर्न खोजिएको स्थानीय पूर्णदेव भट्टले बताए । स्थानीयहरुलाई १ हजार ३ सय हाजिरीको मात्रै भुक्तानी दिइएको छ भने नगरपालिकामा २ हजार २ सय हाजिरी पेश गरिएको उनले बताए । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ३ लाख ९५ हजार रुपैंया हिनामिना गर्न खोजेको भन्दै स्थानीयहरुले प्रशासनमा उजुरी दिने तयारी समेत गरेका छन् । 

यता पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले सो कार्यमा अनियमितता भएको पुष्टि भए सम्बन्धित कर्मचारीलाई कारवाही गर्ने आश्वासन दिएका छन् । सोमबार पाटन नगरपालिका ४ मा आन्दोलित स्थानीयहरुसंग छलफल गर्दै उनले अनियमितता गरेको पाइए कारवाही गर्ने आश्वासन दिएका हुन् । 

यो बिषयमा उपभोक्ता समितिका अध्यक्षलाई फोन गर्न खोज्दा फोन सम्पर्क हुन सकेको छैन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत अन्य ठाउँमा पनि रकम हिनामिना भएको हुन सक्ने स्थानीयहरुले आशंका गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, साउन ११, २०७८  १७:२९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update