Sagun Khabar
बैतडीको पाटन ४ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको आरोप 

बैतडी –बैतडीको पाटनमा प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत पाटन नगरपालिका वडा नं ४ मा अनियमितता भएको स्थानीयहरुको आरोप छ । पाटन नगरपालिका वडा नं ४ को मङरौधारादेखि सिउडे र डोडरखोलादेखि स्वास्थ्यचौकी सम्मको बाटो निर्माणमा अनियमितता भएको स्थानीयहरुको आरोप छ । 

पाटन नगरपालिकाले शनिबार सम्पन्न गरेको सार्वजनिक सुनुवाईमा स्थानीयहरुलाई काम बाफत दिएको रकम भन्दा ती योजनाका लागि बढी रकम निकासा भएको देखिएपछि स्थानीय आन्दोलित भएका हुन् । 

Atrya hospital

स्थानीयहरुले आइतबार ठाँड बजारमा नाराबाजी गर्दै भ्रष्टाचार गर्नेलाई कारवाही माग गरेका छन् । स्थानीयहरुले ती दुवै योजनामा काम गर्नेहरुले ७ लाखको हाराहारीमा रकम पाएको तर नगरपालिकाबाट ती दुवै योजनाका लागि १० लाख बढी निकासा भएको स्थानीय अमर भट्टले बताए । उनले भने ‘गाउँमा स्थानीयहरुको रोजगारीका लागि आएको कार्यक्रममा अनियमितता भएको छ । यसको छानबीन हुनुपर्छ भन्ने हामीहरुको माग रहेको छ ।’

स्थानीयहरुले नाराबाजी गर्दै वडा कार्यालयमा पुगेर अनियमिततामा संलग्न भएकालाई कारवाही हुनुपर्ने माग गरेका छन् । ती दुवै योजना उपभोक्ता मार्फत सम्पन्न भएका बताइएको छ । 

यो बिषयमा पाटन नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपकसिंह बिष्टले आफूले पनि निकासा भएको रकमका बारेमा सार्वजनिक सुनुवाईमै थाहा पाएको बताए । थप रकम निकासा भएको बिषयमा खोजबीन भईरहेको उनले बताए । 

यता पाटन नगरपालिकाका रोजगार संयोजक महेश पन्तले भने वडा नं ४ का ७६ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका र उनीहरुको खातामा रकम निकासा भएको बताए । गाउँमा काम गर्दा धेरै मानिसले गरेको र उनीहरुको खाताबाटै रकम वितरण गर्दा तलमाथि भएको हुन सक्ने उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १३:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update