Sagun Khabar
बैतडीको सुर्नयागाड सिँचाइ योजनाको मर्मत गरिने 

बैतडी–बैतडीको सुर्नयागाड सिँचाइ योजनाको मर्मत गरिने भएको छ । पाटन नगरपालिका वडा नं ३ देखि वडा नं ६ सम्मको सिँचाइ नहरको मर्मत गरिने भएको हो । जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयमार्फत उक्त नहर मर्मतका लागि २० लाख बजेट आएको कार्यालय एओ लोकेन्द्र भट्टले बताए । 

चालु आर्थिक बर्षमा सिँचाइ नहर मर्मतका लागि २० लाख आएको र क्रमागत रुपमा आगामी आर्थिक बर्षमा समेत बजेट आउने उनले बताए । 

Atrya hospital

सोही नहरमार्फत सिँचाइका साथै सुर्नयागाड जलविद्युत आयोजना समेत सञ्चालन भइरहेको छ । 

सिँचाइ नहर मर्मतको कामलाई अगाडि बढाउन जल उपभोक्ता समिति गठन गरिएको छ । बिहीबार पाटनमा बसेको उपभोक्ताहरुको भेलाले रामसिंह भण्डारीको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति गठन गरेको छ । उक्त समितिको सचिवमा पवन भण्डारी, कोषाध्यक्षमा माया अवस्थी लगायत अन्य सदस्यहरु रहेका छन् । 

पाटन नगरपालिका वडा नं ६ का कार्यवाहक वडा अध्यक्ष नरसिंह बिष्टको अध्यक्षतामा सम्पन्न भएको भेलामा सिँचाइ कार्यालयका अधिकृत नरेन्द्रबहादुर चन्द लगायतको उपस्थिती रहेको थियो । 

सिँचाइ योजना मर्मतका लागि जल उपभोक्ता समिति गठन भएपछि अब प्राविधिकहरुले फिल्डमा गएर काम गर्नेछ । तत्कालका लागि आवश्यक भएको ठाउँमा नहर मर्मत गरिने एओ भट्टले बताए । 

सुर्नयागाड सिँचाइ योजनाको नहर मर्मतको काम शुरु हुने भएपछि स्थानीयबासिन्दा समेत खुसी भएका छन् । पाटन क्षेत्रमा सिँचाइ गर्ने मुख्य नहरको मर्मत हुने भएपछि स्थानीयबासिन्दा खुसी भएका हुन् । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update