काठमाडौं—प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव विक्रम मिश्री आज (बुधवार) काठमाडौँ आउँदै छन । काठमाडौँ ओर्लिएलगत्तै उहाँले आजैबाट उच्चस्तरीय भेटवार्ताहरू प्रारम्भ गर्नेछन ।
दुवै देशका तर्फबाट आधिकारिक भेटघाटको औपचारिक तालिका सार्वजनिक नगरिए पनि विदेश सचिव मिश्रीले आजैदेखि राजनीतिक तथा कूटनीतिक भेटघाटहरू थाल्ने तय भएको छ ।
आज बिहान त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने मिश्रीले आजै परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । कार्यव्यस्ततालाई ध्यानमा राख्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि आजै वा भोलिपल्ट शिष्टाचार भेट गर्ने तयारी गर्नुभएको छ ।
त्यसैगरी, भारतीय विदेश सचिव मिश्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साललगायतसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ । काठमाडौँमा उच्चस्तरीय भेटवार्ता सकेर उहाँ भोलि कात्तिक १९ गते अपराह्न स्वदेश फर्किनेछन् ।
मंसिर दोस्रो साता प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी
केही महिनाअघि समय नमिल्दा स्थगित भएको प्रधानमन्त्री शाहको भारत भ्रमणलाई यसपटक भने विशेष चासोका साथ हेरिएको छ । नेपाल र भारतका अधिकारीहरूले आगामी मंसीर दोस्रो साता प्रधानमन्त्री बालेनको भारत भ्रमण हुने गरी आन्तरिक तयारी तीव्र पारेका छन् ।
यसैको पूर्वतयारीस्वरूप नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलसमेत मंगलबार नै काठमाडौँ आइसकेका छन् । यसअघि गत कात्तिक ११ गते नै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिइसकेको जानकारी सार्वजनिक गरेका थिए ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार, भारतीय विदेश सचिव मिश्रीको यही काठमाडौँ भ्रमण सम्पन्न भएलगत्तै प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति सार्वजनिक हुनेछ ।




