बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा हाकिम हाजिर भएका छन् । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हर्ष बहादुर रोका हाजिर भएका हुन् । बुधबार साँझ पुगेका हाकिम रोका बिहीवारबाट पालिकामा हाजिर भएका गाउँपालिकाले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत फागुन ९ गते रोकालाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो । सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अन्तर्गत कार्यरत रहेका रोकालाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको २० दिन पछि कार्यालयमा हाजिर भएका हुन् ।
सुर्नया गाउँपालिका गएको पुस १२ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीको सरुवा भएपछि गाउँपालिका हाकिम विहिन भएको थियो । प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा हाजिर भएकाले अब कामकाजमा सहज हुने गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत आएसंगै रोकिएका आर्थिक तथा प्रशासनिक कामहरु सुचारु भएका उनले बताए ।