Sagun Khabar
बैतडी सहित सुदूरपश्चिमका जिल्लाहरुमा भिटौलो शुरु 

बैतडी- चैत महिना शुरु भएसंगै बैतडी सहित सुदूरपश्चिमका जिल्लाहरुमा भिटौलो शुरु भएको छ । परापुर्वकाल देखि  बैतडी, दार्चुला लगायतका जिल्लाहरुमा चैतको महिनामा माइती पक्षले छोरी बैनीहरुलाई भेट्ने चलन रही आएको छ । यसैलाई भिटौलो भन्ने गरिएको हो । पहाडबाट तराईमा बसाईसरेकाहरु पनि भिटौलो चलन मनाउँदै आएका छन् ।

सुदूरपश्चिमका जिल्लाहरुमा मिठो मसिनो पकाएर छोरी बहिनीहरुलाई उनीहरुकै घरमा गएर प्रत्येक बर्ष चैतको महिना भेट्ने चलन रही आएको छ । चैतको महिना दीदीबहिनीहरुलाई नभेट्दा अपशकुन हुन्छ भन्ने मान्यता समेत रही आएको आचार्य घनश्याम लेखकले बताए ।  चैतको महिनामा माइतीबाट दाजुभाई कहिले भेट्न आउलान भनेर दिदी बहिनीहरुले पनि बाटो कुर्ने गरेका छन् ।

Atrya hospital

आफ्ना दाजुभाई नहुनेहरुले वल्लोपल्लो घरका दाजुभाईहरु समेत गएर भेटघाट गर्ने चलन छ । छोरीबहिनीहरु प्रतिको माया, ममता बढाउन र माइती पक्षको सम्झना मेटाउनका लागि भिटौलाको चलन चलेको पण्डित लबदेव  भट्टले बताए।  पहिला भिटौला जाँदा घरमै उपलब्ध चीजवस्तुहरु लिएर जाने चलन थियो तर पछिल्लो समयमा बजारका सामग्रीहरु किन्ने चलन पनि बढेको छ ।

भिटौलाका कारण चैत महिनामा बजारहरुमा पनि चहल पहल बढ्ने गरेको व्यापारीहरुले बताएका छन्। चैतको महिनाको शुरुदेखि महिनाभरी विवाहित छोरीचेलीहरुलाई भेट्ने चलन रही आएको सुर्नयाका स्थानीय लक्ष्मीदत्त भट्टले बताए । यो महिनाको भेटघाटले माइतीको नियास्रो मेटिने गरेको उनले बताए । माइतीले चैतको महिना छोरीबहिनीहरुलाई भेट्ने चलन परापूर्वकालदेखि चलि आएको हो ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update