Sagun Khabar
बैतडीका नन्दराज हेला गर्ने समाजको नजरमा नायक 

बैतडी- जन्मजात अपाङ्गता भएका बैतडीका नन्दराज हेला गर्ने समाजका अगाडी नायक बनेका छन् । २०४५ सालमा बैतडीको सुनर्या–३ गोयलीमा  जन्मिएका नन्दराज  भट्ट  विभिन्न  किसिमका दुख कष्ट भोगेर अथक  सघर्षबाट  सफलता प्राप्त गरेर   हेला  गर्ने समाजमा नायक बनेका हुन् ।

 उनी अहिले  समाजमा अनुकरणीय छन् । जन्मिदा अशक्त जन्मेपछि  परिवार र  समाजलाई शुभ नलागेका  भट्ट अहिले उदाहरणीय  र  सबैको प्रिय छन् । आमाबुवाले भारतको झुलाघाटसम्म पुगी घिउ, तरकारी बेचेर पढाएका नन्दराज होचो र शारीरिक रूपमा अशक्त भए पनि आफ्नो परिवार र हेला गर्ने समाजकै नजरमा अहिले नायक हुनुभएको छ । तत्कालीन समयमा बैतडीसहित पहाडी जिल्लामा सुत्केरीलाई ४५ दिनसम्म गोठमा राख्ने चलन थियो । तर समाज र परिवारकैले नन्दराजकी आमा पार्वतीलाई यस्तो बच्चा लिएर गोठमा बस्न नहुने भन्दै त्यहाँबाट समेत निकाल्ने प्रयत्न गरे ।

Atrya hospital

जे परे पर्छ  म गोठ र बच्चा छोड्दिनँ भनेर आमाले जिद्दी गरी स्याउलाले बनाएको गोठमै बसेर आफूलाई पाल्न आमाले गरेको सङ्घर्ष सुनाउँदै ३५ वर्षीय नन्दराजले बुवाको पनि साथ भएपछि आमाले समाजको त्यो हिंसा पार गरेर मलाई हुर्काएको बताए । तरकारी, दुध र घिउ बेचेर जेनतेन परिवारको गुजारा चलाउने नन्दराजका बुबा आमा शारीरिक रूपमा अपाङ्गता भएका छोरा हुर्काउने, पढाउने थप जिम्मेवारीले थिचिएका थिए ।  कक्षा ५ सम्म बुवाले उहाँलाई दैनिक बोकेरै स्कुल पु¥याउनुभयो ।

 अभिभावकले कैयौँ चुनौतीको सामना गरेर आफूलाई पढाएको नन्दराज बताए।  स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका उनी  सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालको कार्यकारी निर्देशक र रिह्याब फाउन्डेसनको प्रबन्ध निर्देशकका रूपमा कार्यरत हुनुहुन्छ । यी दुवै संस्थामार्फत उनले  आफू जस्तै अपाङ्गता भएकाको हक, अधिकारका लागि पैरवी गरिरहनुभएको छ ।  शारीरिक रूपमा अशक्त भएका भोलिको पिँढीलाई हामीले जस्तो कठिनाइ भोग्न नपरोस् र सबैको जीवन सहज रूपमा बितोस् भनेर आफु लागि परेको भट्टले बताए । दुवै हातका नाडीसम्म मात्र भएका उहाँ लेख्ने, कम्प्युटर चलाउने, दाह्री काट्नेलगायतका काम सजिलै गर्नुहुन्छ ।

शारीरिक अशक्तता उहाँको दैनिक र वैवाहिक जीवनका लागि बाधा बनेको छैन । धेरै जसो काम आफूले अरू जस्तै गर्ने गरेको भट्टले बताए ।  हाल एलएलबीसमेत अध्ययन गरिरहनुभएका भट्टले  उच्च शिक्षा अध्ययनका क्रममा पनि  दुःखको सामना गर्नु परेको  बताए ।   क्याम्पस अध्ययन गर्न धनगढी आउँदा कसैले कोठा नदिएको र समाजसेवी महेन्द्रा चन्दको पहलमा कैलाली बहुमुखी क्याम्पसमा भर्ना भएर उच्च शिक्षा अध्ययन गर्ने सपना पूरा गरेको भट्ट बताए ।  मेरो विद्यालय शिक्षा र उच्च शिक्षाका लागि महेन्द्रा चन्दले कहिल्यै नबिर्सिने गुन लगाएका उनको भनाई  छ।  

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update