Sagun Khabar
एमाले बैतडीको अध्यक्षमा चयन भएका विक को हुन् ? 

बैतडी–नेकपा एमाले बैतडीको नवौं अधिवेशनबाट नरेशकुमार विक सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् । एमाले बैतडीको पाटनमा सम्पन्न भएको अधिवेशनले विकसहित सबै पदाधिकारीहरुलाई सर्वसम्मत चयन गरेको छ । 

अध्यक्ष पदका आकांक्षीहरुबीचमा सहमति गर्दै विकले अध्यक्ष पद हात पारेका छन् । एमालेका केन्द्रीय सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी निकट मानिने विक २०४६ सालदेखि नै कम्युनिष्ट पार्टीमा आवद्ध रहेका छन् । 

Atrya hospital

अध्यक्षमा निर्वाचित भएसंगै पाटन नगरपालिका ५ ओदाली घर भएका ४९ बर्षीय विकले दलित समुदायबाट एमाले बैतडीको नेतृत्व हाँक्ने पहिलो व्यक्तिको रुपमा समेत पहिचान बनाएका छन् । 

२०५३ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला अध्यक्ष भइसकेका विक एमालेको जिल्लाको कमिटि सदस्यका साथै अञ्चल कमिटि सदस्यको जिम्मेवारी समेत सम्हालीसकेका छन् । उनले तत्कालिन निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय कमिटिको अध्यक्षको रुपमा समेत काम गरिसकेका छन् । 

एमालेको जनवर्गीय संगठन मुक्ति समाज नेपालको केन्द्रीय सचिव समेत रहेका विक केपी ओली प्रधानमन्त्री भएको बेला राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीको अध्यक्ष समेत बनेका थिए । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेकातर्फबाट पाटन नगरपालिकामा नगर प्रमुख उम्मेदवार बनेका विक त्यो बेला पराजित भएका थिए । 

निरन्तर एमालेको राजनीतिमा रहेका विकले पार्टीलाई आफ्नो कार्यकालमा अझै बलियो बनाउने दाबी गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update