Sagun Khabar
बैतडीमा ८९ हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइयो 

बैतडी –बैतडीमा ८९ हजार बढी बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइएको छ । किसानहरुले पालेका जिल्लाभरीका ८९ हजार १ सय बाख्राहरुलाई पिपिआर विरुद्धको खोप लगाइएको भेटरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख श्यामसिंह खड्काले बताए । 

पिपिआर रोग लाग्नबाट बचाउन खोपमात्रै उपाय भएकाले किसानहरुले पालेका बाख्राहरुलाई खोप लगाइएको खड्काले बताए । माघ र फागुनमा जिल्लाका १० ओटै स्थानीय तहमा अभियान सञ्चालन गरेर खोप लगाइएको उनले बताए । 

Atrya hospital

प्रत्येक पालिकाहरुमा निश्चित समयका लागि खोप कार्यकर्ता नियुक्त गरेर पिपिआर विरुद्धको खोप अभियान सञ्चालन गरेको भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत डा.विशाल पाठकले जानकारी दिए । 

दशरथचन्द नगरपालिकामा १० हजार ७ सय बाख्रालाई खोप लगाइएको छ भने पाटन नगरपालिकामा १० हजार ९ सय बाख्रालाई खोप लगाइएको छ । यस्तै पुर्चौंडीमा १० हजार बाख्रालाई खोप लगाइएको छ भने मेलौलीमा ८ हजार बाख्रालाई खोप लगाइएको छ । 

जिल्लाको सुर्नया गाउँपालिकामा १० हजार, शिवनाथ गाउँपालिकामा ४ हजार, डिलाशैनीमा ९ हजार, सिगासमा १० हजार ५ सय, दोगडाकेदारमा ८ हजार र पञ्चेश्वर गाउँपालिकामा ८ हजार बाख्रालाई खोप लगाइएको डा. पाठकले बताए । 

बैतडीमा बाख्राको संख्या १ लाख ३२ हजार रहेकोमा ८९ हजार १ सय बाख्रालाई खोप लगाइएको छ । उपलब्ध खोपको मात्रा अनुसार बाख्राहरुलाई खोप लगाइएको हो । 

पिपिआर रोग लागेमा त्यसको औषधि नहुने र त्यो रोगबाट बचाउने एकमात्र उपाय खोप भएकाले पिपिआर विरुद्धको खोप अभियान सञ्चालन गरिएको कार्यालय प्रमुख खड्काले जानकारी दिए । उनले भने, ‘बाख्रामा पिपिआर रोग लागेमा ८० प्रतिशत मर्ने सम्भावना हुन्छ । त्यसैले किसानहरुले पालेका बाख्रामा क्षति नहोस भनेर पिपिआर खोप लगाएका हौं ।’

बाख्रामा पिपिआर रोग लागेमा पखाला लाग्ने, र्याल सिगान बगाउने, उच्च ज्वरो आउनेलगायत लक्षण देखा पर्ने र अन्त्यमा बाख्रा मर्ने गर्दछन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update