Sagun Khabar
दुर्गम बस्तीमा विद्युत विस्तार हुँदै, सुर्नयाको मौरीबगड र शिवनाथको बगजेबला बिजुली पुग्यो 

बैतडी–बैतडीका दुर्गम बस्तीहरुमा विद्युत विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले स्थानीय सरकारहरुसंगको समन्वयमा विद्युत विस्तार कार्यलाई तीव्रता दिएको हो । 

विद्युत विस्तारका लागि भएका ठेक्काहरुलाई समयमै कार्यान्वयनमा ल्याएर विद्युतीकरणको कामलाई तीव्रता दिइएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । 

Atrya hospital

पछिल्लो समयमा सुर्नया गाउँपालिकाको मौरीबगड र शिवनाथ गाउँपालिकाको बगजेबलामा बिजुली बलेको उनले बताए । 

सुर्नया गाउँपालिकासँगको सहकार्यमा मौरीबगडमा विद्युत बाल्न सफल भएको बैतडी वितरण केन्द्रका प्रमुख पौडेलले बताए । वडा नं ७ स्थित मौरीबगडमा विद्युत विस्तार भएपछि त्यहाँ डेढसय बढी घरधुरी लाभान्वित भएका छन् । त्यहाँबाट अन्य ठाउँमा पनि विद्युत विस्तार गरिने पौडेलले बताए । 

सुर्नया गाउँपालिकाले पनि विद्युत विस्तारको नीति लिएकाले विद्युत प्राधिकरणसंगको सहकार्यमा विद्युतीकरणको काम भइरहेको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

यस्तै शिवनाथ गाउँपालिका वडा नं ५ बगजेबलामा विद्युत विस्तार भएपछि स्थानीय नागरिकलाई सहज भएको छ । गाउँपालिकाको समन्वयमा विद्युत प्राधिकरणले बगजेबलामा विद्युत विस्तार गरेको पौडेलले बताए । 
शिवनाथ गाउँपालिकाले पनि विद्युतीकरणलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

बैतडीमा चालु आर्थिक बर्षमा ६ हजार घरधुरीमा विद्युत विस्तार गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पौडेलले बताए । अहिले जिल्लाभरी २३ हजार बढी घरधुरीमा विद्युत सेवा सञ्चालनमा रहेको छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update