Sagun Khabar
बैतडीको पाटनमा नमूना नगरसभा 

बैतडी –बैतडीको पाटन नगरपालिकामा नमूना नगरसभा सम्पन्न गरिएको छ । मंगलबारदेखि शुरु भएको नमूना युवा नगरसभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम अन्तर्गत शनिबार नमूना नगरसभा सम्पन्न गरिएको हो । 
नमूना नगरसभाका लागि प्रमुखको रुपमा सञ्जय भण्डारी र उपप्रमुख निर्मला बिष्टले नगरपालिकाको बार्षिक निती तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । 

युवाहरुलाई स्थानीय सरकार सञ्चालनको अभ्यास सिकाउने उद्देश्यले नमूना नगरसभाको आयोजना गरिएको हो । 

Atrya hospital

नमूना नगरसभा कार्यक्रममा पाटन नगरपालिका नगर प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा र वडा अध्यक्षहरुलाई सहभागी गराएर नमुना नगरसभामा बजेट र निती तथा कार्यक्रम र पाटन नगरपालिका भित्रका समस्याबारे छलफल गरिएको छ ।

छलफलमा भाग लिने नमूना नगर सभा सदस्यले शिक्षा, स्वास्थ्य, कृषि, युवा रोजगारका बिषयलाई प्रमुख प्राथमिकता दिएर छलफल गरेको प्रशिक्षक भरत मल्लले बताए ।

नमूना नगरसभाबाट नगरसभा सञ्चालनको प्रक्रिया,नीति तथा कार्यक्रम र बजेट निर्माणका बिषयमा अनुभव लिन सहज भएको नमूना नगरसभाका प्रमुख भण्डारीले बताए । 

युवाहरुको क्षमता अभिवृद्धि गरी स्थानीय सरकार सञ्चालनका बारेमा हुने अभ्यास तथा प्रक्रियाका बारेमा प्रशिक्षण प्रदान गरिएको आयोजक बैतडी युवा समाजले जनाएको छ ।

१० वटै वडाबाट सहभागी युवा प्रतिनिधिहरुलाई स्थानीय सरकारमा नगर कार्यपालिका, नगर सभा, बजेट निर्माण तथा कार्यान्वयनका प्रक्रियाका बारेमा जानकारी तथा प्रशिक्षण प्रदान गरिएको छ ।
प्रशिक्षणका लागि पाटन नगरपालिका, युवालय, अक्सफाम, राष्ट्रिय युवा परिषद्, नगर युवा संञ्जाल तथा क्लबले सहकार्य गरेको आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update