Sagun Khabar
विपन्न किसानलाई मौरी र बाख्रा वितरण 

बैतडी –बैतडीमा आर्थिक अवस्था कमजोर भएका महिला किसानहरुलाई मौरीका घार र बाख्रा वितरण गरिएको छ । रुडेस नामक गैरसरकारी संस्थाले दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाका ७ जना किसानहरुलाई मौरीको घार र बाख्रा वितरण गरेको हो । 

अक्सफाम नेपालको सहयोगमा सञ्चालित ग्रीन परियोजना अन्तर्गत गठन भएका महिला सशक्तीकरण केन्द्रमा आवद्ध सदस्यहरुलाई मौरी घार र बाख्रा वितरण गरिएको कार्यक्रम संयोजक अशोक चन्दले बताए । 

Atrya hospital

दशरथचन्द नगरपालिकाको वडा नं ४,६ र १० मा रहेका सशक्तीकरण केन्द्रमा आवद्ध सदस्यहरुलाई मौरीघार वितरण गरिएको हो । सशक्तीकरण केन्द्रमा आवद्ध सदस्य मध्ये विपन्न, आर्थिक अवस्था कमजोर भएकाहरुलाई छनौट गरेर मौरी घार वितरण गरिएको रुडेस बैतडीका लेखा अधिकृत दिनेशप्रसाद जोशीले बताए । 

यस्तै दशरथचन्द नगरपालिका १ स्थित महारुद्र सशक्तीकरण केन्द्रमा आवद्ध कमली भट्टलाई १ बोकासहित ५ ओटा बाख्रा वितरण गरिएका छन् । आर्थिक अवस्था कमजोर भएकी भट्टलाई जिविकोपार्जनमा सहज होस भनेर बाख्रा वितरण गरिएको कार्यक्रम संयोजक चन्दले बताए । 

यस्तै पाटन नगरपालिका ६ हिरापुरस्थित वनारसी महिला सशक्तीकरण केन्द्रमा आवद्ध कलावती दमाईलाई पनि बाख्रा वितरण गरिएका छन् । कलावतीको आर्थिक अवस्था कमजोर भएकाले उनको जिविकोपार्जनमा सहजता ल्याउन बाख्रा वितरण गरिएको हो । 

बाख्रा वितरण कार्यक्रममा सहभागी पाटन नगरपालिका वडा नं ६ का वडा सदस्य करनसिंह कठायतले विपन्न नागरिकलाई यस्ता कार्यक्रमले जिविकोपार्जनमा टेवा पुग्ने बताए ।  

मौरी घार वितरण कार्यक्रममा सहभागी दशरथचन्द नगरपालिका वडा नं १० का वडा अध्यक्ष त्रिलोकसिंह बिष्टले यस्ता खालका कार्यक्रमले किसानहरुलाई व्यवसायमा लाग्न टेवा पुग्ने बताए । यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update