Sagun Khabar
महाशिवरात्रिको अवसरमा स्वर्गेनी पिपलधाममा कृषि प्रदर्शनी मेला 

बैतडी–महाशिवरात्रिको अवसर पारेर बैतडीको पाटन ६ स्थित प्रसिद्ध स्वर्गेनी पिपलधाममा कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको छ । मेलामा आएका दर्शनार्थीहरुलाई कृषि उपजका बिषयमा जानकारी दिनुका साथै कृषि पेशामा लागेका किसानहरुलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको हो । 

पाटन भ्याली क्रिकेट क्लबको आयोजना तथा पाटन नगरपालिका वडा नं ६ को सहयोगमा कृषि प्रर्दशनी मेलाको आयोजना गरिएको पाटन भ्याली क्रिकेट क्लबका सचिव सन्तोष जोशीले बताए । 

कृषि प्रर्दशनी मेलामा नगरपालिकाभित्रका ४२ जना किसानहरुले आफ्ना कृषि उपजसहित सहभागिता जनाएका थिए । 

Atrya hospital

कृषि प्रदर्शनी मेलामा पाटन नगरपालिका ६ का मोहित कुमाल प्रथम भएका छन् । उनले उत्पादन गरेको मुला प्रदर्शनीमा लगिएको थियो । यस्तै पाटन ६ कै विन्दु भण्डारी द्वितीय भएकी छन् । उनले उत्पादन गरेको काउली प्रदर्शनीमा राखिएको थियो । यस्तै पाटन ६ कै समीर भण्डारी तृतीय भएका छन् । उनले उत्पादन गरेको फर्सी कृषि प्रदर्शनी मेलामा राखिएको पाटन भ्याली क्रिकेट क्लबका सचिव जोशीले बताए । 

कृषि प्रदर्शनीमा राखिएका कृषि उपजहरुको मूल्याकंन नगरपालिकाको कृषि शाखाका प्राविधिकहरुले गरेका थिए । 

कृषि प्रदर्शनी मेला प्रथम,द्वितीय र तृतीय भएका किसानहरुलाई नगदसहित सम्मान गरिएको छ । यस्तै प्रर्दशनीमा सहभागी भएका अन्य किसानहरुलाई पनि नगदसहित सम्मान गरिएको जोशीले बताए । 

किसानहरुलाई कृषि पेशामा लाग्न उत्प्रेरणा जगाउने उद्देश्यसहित मेलाको अवसरमा कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बताए । 

कृषि प्रर्दशनी मेलामा पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा, पाटन नगरपालिका ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्ट, पाटन नगरपालिका वडा नं २ का वडा अध्यक्ष महेश पन्त लगायतका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो । 

यसैबीच महाशिवरात्रिको अवसरमा स्वर्गेनी पिपलधाममा दर्शनार्थीहरुले दर्शन गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update