Sagun Khabar
बैतडीको सुर्नयाका भूमीहिनहरुलाई निवेदन दिन आह्वान 

बैतडी–राष्ट्रिय भूमी आयोगले बैतडीको सुर्नया गाउँपालिकाका भूमीहिनहरुलाई निवेदन दिन आह्वान गरेको छ । आयोगले बिहीबार एक सूचना प्रकाशन गर्दै ३५ दिनभित्र तोकेको ढाँचामा निवेदन दिन आग्रह गरेको हो । 

भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह गरिएको हो । यो भन्दा पहिला पनि आयोगले सूचना प्रकाशन गरिसकेको भएपनि सुर्नयामा लगत संकलनको काम नसकिएकाले फेरि सूचना प्रकाशन गरिएको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐर(कपील)ले जानकारी दिए । 

Atrya hospital

राष्ट्रिय भूमी आयोगले भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको तथ्यांक संकलन गरेर उनीहरुलाई जमीन उपलब्ध गराउने भएकाले तोकिएको समयमा पालिकाले तोकेको स्थानमा निवेदन दिन आग्रह गरिएको ऐरले बताए । 

बैतडीमा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाले तथ्यांक संकलनको काम गरिसकेको छ । ती पालिकाहरुमा अमीन पठाएर अब जग्गाको नापजाँच गर्ने कार्य अघि बढ्ने अध्यक्ष ऐरले बताए । 

जिल्लाको दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा पनि दोश्रो पटक सूचना प्रकाशन भएर तथ्यांक संकलनको काम भइरहेको छ । मेलौली नगरपालिकाले फेरि समय मागेले पुनः सूचना प्रकाशन हुने ऐरले बताए । 

अन्य पालिकाहरुमा भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलनको काम भइरहेको अध्यक्ष ऐरले बताए । जिल्लाभरी २ हजार २ सय भन्दा बढी परिवार सुकुम्बासी रहेका हुन सक्ने अनुमान गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update