Sagun Khabar
खगराजलाई  दलको  नेताबाट हटाएपछि  नेकपा माओवादी केन्द्र सुदूरपश्चिममा हलचल

नेकपा माओवादी केन्द्र सुदूरपश्चिममा फेरी हलचल मच्चिएको छ । सुदूरपश्चिम माओवादीको नेतृत्व परिवर्तनदेखि नै सुरु भएको हलचल अहिले पनि कायमै छ। माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता परिवर्तन भएसँगै माओवादी दुई कित्तामा विभाजन हुन पुगेको छ।

तत्कालिन संसदीय दलका नेता खगराज भट्टले आज (बुधबार) आफ्नो फेसबुकमा ‘सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ वर्षको रानीतिक जीवन समाप्त पार्ने डीजाइन अस्वीकार्य छ’ भनेर लेखेका छन्। यसबाट पनि माओवादीभित्र टुटफुडले बिकराल रुप लिइरहेको विषयलाई प्रष्ट पार्छ।

स्वास्थ्य सन्देश
Atrya hospital

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश सांसद खगराज भट्टलाई मुख्यमन्त्री बनाउने गरी नेतृत्व परिवर्तन गर्ने भनेर गरेको प्रस्तावप्रति माओवादीभित्रै देखिएको ‘मतभेद’ बाट उनी झनै खिन्न छन् । मंगलबार बसेको बैठकमा प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरूबिच मतभेद देखिएपछि अर्को दिन निर्णय गर्ने भन्दै बैठक नै स्थगित हुन पुगेको थियो।

बैठकमा अध्यक्ष प्रचण्डले भट्टलाई आगामी दिनमा मुख्यमन्त्रीसमेत बनाउने गरी कांग्रेससँग छलफल गर्ने भनेर प्रस्ताव गरेका थिए। तर, प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरू चक्रपाणि खनाल, जनार्दन शर्मा र देवेन्द्र पौडेल लगायतले असहमति जनाए।खनाल, शर्मा र पौडेलले गलत ढंगले नेतृत्व परिवर्तन गर्न जायज नहुने धारणा राखेका थिए।

गत माघ १२ गते नेकपा माओवादी केन्द्रले खगराज भट्टलाई दलको नेताबाट हटाएर सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता परिवर्तन गरेको थियो। माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले प्रदेश सभा सदस्य मानबहादुर धामीलाई नयाँ संसदीय दलको नेता चयन गरेको थियो।
 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update