Sagun Khabar
मालिकार्जुन धाममा पूजन जात्रा : दार्चुलाका दुई स्थानीय तहमा आज सार्वजनिक बिदा 

दार्चुला –दार्चुलाका दुई स्थानीय तहले शिखर पूजन जात्राका अवसरमा आज सार्वजनिक बिदा दिएका छन् । मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रकै सातौँ धाम मालिकार्जुनको शिखर जात्रामा हुने पूजन जात्राका अवसरमा मालिकार्जुन र शैल्यशिखर नगरपालिकाले आज सार्वजनिक बिदा दिएका हुन् ।

जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थल मालिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पूजन जात्रा लाग्ने गर्दछ । हिन्दू धर्मावलम्बीको आस्थाका धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका युवकले १५ दिनअघि नै चोखोनितो भएर जाने प्रचलन छ ।

Atrya hospital

शिवलिङ्गका रूपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात् शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविश्वास रहेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए । 

शिखर धामको दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको स्थानीय गंगासागर जोशीले बताए । 

मालिकार्जुन–३ मडस्थित भण्डार घरदेखि आज सुरु हुने शिखर जात्रा मालिकार्जुन मन्दिर हुँदै शिखर क्षेत्रमा पुग्ने गर्दछ । यस वर्षको शिखर धामको दर्शन गर्न श्रद्धालु मालिकार्जुन पुगेर शिखर लागेका छन् ।

शिखर धामको दर्शन गर्न बिहीबारदेखि नै अधिकांश जिल्लाका साथै उत्तराखण्ड भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु मालिकार्जुन गएका छन् । बर्षेनी हजारौँ श्रद्धालु भक्तजनले पूजन जात्रामा शिखर धामको दर्शन गर्ने गरेको जोशीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  ०८:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update