बैतडी- बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा गहुँबाली सुकेको छ । यो वर्ष हिउँदे वर्षा नहुँदा खडेरीले गहुँबाली सुकेको हो ।
माघ लागिसक्दा समेत यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको सुर्नयाका किसान धर्मान्नद भट्टले बताए । सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको उनले बताए । सिँचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँबाली सुकिसकेको अर्का किसान लक्ष्मीदत्त भट्टले बताए । गहुँबाली सुकेपछि घरपरिवार कसरी पाल्ने भन्ने चिन्ता थपिएको उनले बताए।
खडेरीका कारण जनजीवन प्रभावित भएको उनले बताए । सिँचाइ सुविधा नभएका उच्च लेकाली र हिमाली क्षेत्रमा गहुँबाली सुकेको किसानहरुले बताएका छन् । हिमपात हुने समयमा पानी समेत नपरेपछि बालीनाली हुर्कन नपाएको किसानहरुको भनाइ रहेको छ । बर्खेबाली मध्येको मकैमा जंगली जनावर क्षति पुर्याउँदा हरेक बर्ष उत्पादनमा कमी आउने गरेको छ ।
हिउँदमा खडेरीका कारण गहुँ उत्पादनमा कमी आउन थालेपछि किसानहरु समस्यामा पर्ने गरेका छन् । बैतडीमा ३१ हजार ४ सय ८५ हेक्टर जमीनमा खेती हुँदै आएको छ । यो मध्ये १५ हजार ४ सय हेक्टरमा मात्रै सिँचाइ सुविधा रहेको छ । सिँचाइ सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव परेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले बताए ।