बैतडी-पछिल्लो समय फेसबुक एकाउन्ट ह्याक हुने क्रम बढेको छ । सामाजिक सञ्जालमा एकाउन्ट ह्याक गरि अस्लिल भिडियो तथा फोटा हरु पोष्ट गर्ने कार्य बढेको हो । अधिकांश फेसबुक ह्याक भएर यस्ता नराम्रा पोस्ट भइरहेकोले फेसबुक प्रयोगकर्ता सामाजिक रूपमा बदनाम समेत भइरहेका छन् ।
फेसबुक पेजका माथि देखिने ‘स्टोरी’ मा हरेक दिन कसै न कसैको फेसबुकबाट अस्लिल फोटो पोस्ट भएकै हुन्छ । अस्लिल तस्बिर पोस्ट गर्ने मात्र नभई एकाउन्ट ह्याक गरि पैसा माग्ने वा कुनै लिङ्कमा क्लिक गर्न लगाएर बैङ्क तथा वित्तीय संस्थाका एकाउन्ट पनि ह्याक गर्ने गतिविधि बढिरहेको छ ।
केही दिनअघिमात्रै आफ्नो फेसबुक एकाउन्ट ह्याक भइ उक्त फेसबुकबाट निरन्तर रूपमा अस्लिल भिडियो तथा फोटोहरु पोस्ट भइरहेका दशरथचन्द नगरपालिका १ का सुरेन्द्र भट्टले बताए । यस्तो घटना पछिल्लो समय निकै बढेकोले यस बाट बच्न सबैमा आग्रह पनि गरे
फेसबुक ह्याक भएको उजुरी अधिकाङ्स आउने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक दिपक गिरिले बताए । अहिले यो व्यापक भएको बताउँदै उनले फेसबुक तथा म्यासेन्जरमा आएका जुन पायो त्यही लिङ्क क्लिक नगर्न अनुरोध गरे ।
यस्तै फेसबुकको ‘वाल’ मा आउने ‘न्युज’ हरू आधिकारिक हुन् वा हैनन् यकिन गरेर मात्रै क्लिक गर्न उनको सुझाव छ । कसैको म्यासेजबाट कुनै पनि बहानामा पैसा माग्ने वा ओटिपी कोड मागेमा कुनै पनि हालतमा कसैलाई पनि नदिन अनुरोध गर्दै उनले फेसबुक ह्याक भई समस्यामा पर्नुभएको छ भने तुरुन्तै नेपाल प्रहरीको साइबर ब्युरो अथवा नजिकाको प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत आग्रह गरे ।
यस बाट बच्न आइटी अफिसरहरुले सबैभन्दा पहिले प्रयोगकर्ताले फेसबुक रिकभरी इमेल र मोबाइल नम्बरलाई सुरक्षित गर्नु पर्ने बताएका छन् । फेसबुकको सेटिङमा गएर त्यसलाई पुनः अपडेट गरि रिकभरी इमेल र मोबाइल नम्बर प्रयोगकर्तासँग सुरक्षित भयो भने जो कसैले अरूको फेसबुक ह्याक गर्न नसकिने ब्यूरोका प्रवक्ता पशुपती कुमार रायले बताए ।
दिन प्रतिदिन बढ्दो साइबर अपराधले प्रहरी समेत हायलकायल छ । साइबर ब्यूरोमा आउने उजुरीमध्ये ८० प्रतिशत सामाजिक सञ्जालको दुरुपयोग सम्बन्धि रहने गरेका छन् । यस्ता गतिविधिबाट पीडित हुनेमा २५ देखि ३५ वर्ष उमेर भित्रका किशोरी र महिलाहरु रहेका छन् ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा १० हजार बढी साइबर अपराध सम्बब्धी उजुरी ब्यूरोमा दर्ता भएका छन् । ब्यूरोका प्रवक्ता पशुपती कुमार रायका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा अकाउन्ट ह्याक सम्बन्धी ५ हजार २ सय ८८ वटा उजुरी परेका छन् भने नक्कली अकाउण्टबाट दुख दिएको १ हजार ५१ वटा उजुरी रहेका छन् । यस्तै, सामाजिक सञ्जालमार्फत भएका आर्थिक अपराधका १५ सय ४५ वटा उजुरी परेका छन् । ब्यूरोले ४५ वटा अपराधमा मुद्दा अघि बढाएको छ ।
सामाजिक सञ्जालहरुको बढ्दो प्रयोग र प्रभावको यो समयमा साइबर अपराधलाई निमिट्यान्न पार्न संभव हुँदैन । इन्टरनेटमार्फत हुने ठगीदेखि साइबर अपराधका सबैखाले घटनालाई न्युनिकरण मात्रै गर्न सकिन्छ । त्यसका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु स्वयं सचेत हुनु जरुरी छ भने साइबर अपराध सम्बन्धि जनचेतना जगाउनु पनि उत्तिकै जरुरी छ ।