Sagun Khabar
बैतडीका राजमार्ग तथा ग्रामीण कच्ची सडकहरु धुलाम्य, यात्रुहरुलाई सास्ती

बैतडी- बैतडीका राजमार्ग तथा ग्रामीण कच्ची सडकहरु धुलाम्य हुँदा यात्रुहरुलाई निकै सास्ती हुने गरेको छ । मोड सुधारको काम चल्नु तथा ग्रामिण सडक स्तरोन्नती नहुँदा सुख्खायाममा सडकहरु धुलाम्य हुने गरेका छन् । धुलाम्य सडकका कारण सडकमा पैदल हिड्नेहरुलाई झन सकस हुने गरेको छ । धुलाम्य सडकका कारण सडक छेउछाउमा हिड्नै नसकिने अवस्था रहेको सुर्नया ५ का रोशन बिष्टले  बताए ।  

ग्रामिण सडक मात्रै नभएर बैतडीको दशरथचन्द राजमार्ग धुलाम्य हुँदा यात्रुहरुलाई निकै सास्ती हुने गरेको छ । दरशथचन्द राजमार्गको अनारखोलीदेखि सदरमुकामसम्म मोड सुधार गर्ने कार्यक्रम चलिरहेको छ । विगतदेखि नै मोड सुधारको योजना सञ्चालनमा रहेको छ । मोड सुधारको योजना अव्यवस्थित रुपमा सञ्चालन हुँदा यात्रुहरुलाई निकै समस्या हुने गरेको छ । 

Atrya hospital

यस्तै मेलौलीदेखि पञ्चेश्वर सडकमा पनि धुलैधुलो हुँदा यात्रा गर्न कठीन भएको स्थानीय केशवबहादुर चन्दले बताए । सडकमा मोटरसाइकल गुडाउनै मुस्किल भएको उनले बताए ।   

धुलाम्य सडकले निकै सास्ती हुने गरेको सडक नजिकका बासिन्दाहरुले बताएका छन् । सडकको धुलो घर सम्मै पुग्ने गरेको उनीहरुको गुनासो रही आएको छ । सडक छेउमा कार्यालय कर्मचारीहरु पनि धुलाम्य सडकले हैरान भएका छन् । बिहान लगाएको लुगा दोश्रो दिन लगाउन नमिल्ने गरेर फोहर हुने गरेको एकजना स्वास्थ्यकर्मीले बताए । उनले भने ‘सडक छेउमै मेरो कार्यालय रहेको छ । अफिस पुग्दा सम्म शरीर भरी धुलैधुलो हुन्छ । धुलोका कारण विभिन्न खालका स्वास्थ्य समस्या सिर्जना हुने हुन्छ ।’

दुई तीन बर्ष यता मोड सुधारका लागि ठेक्का मार्फत काम गराइरहेको सडक डिभिजन कार्यालयले धुलो कम गर्ने उपाय अपनाएको छैन् । सम्बन्धित निर्माण व्यवसायीसंग यो बिषयमा कुनै कुराकानी नगर्दा सधैंभरी सडक धुलाम्य हुने गरेको छ । सडकमा मोड सुधारको लागत स्टमेट तयार गर्दा धुलो कसरी कम गर्ने भन्ने बिषयमा कार्यालयले सोच्ने गरेको छ । धुलाम्य सडकमा पानीको व्यवस्था गरेमा केही राहत हुने भएपनि कार्यालयले यो बिषयमा पनि ध्यान दिएको छैन् । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update