Sagun Khabar
पञ्चेश्वर गाउँपालिकाले गाई–गोरुलाई लम्पीस्कीन विरुद्धको खोप लगाउँदै 

बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिकाले किसानहरुले पालेका गाई–गोरु र बाच्छाबाच्छीहरुमा लम्पीस्कीन विरुद्धको खोप लगाउन शुरु गरेको छ । जिल्लामै पहिलो पटक गाउँपालिकाले आफ्नै श्रोतबाट खोप खरीद गरेर गाई–गोरुहरुलाई खोप लगाउन थालेको हो । 

गत बर्ष लम्पीस्कीन रोगका कारण किसानहरुले क्षति व्यहोर्नुपरेकाले पशुचौपायाहरुलाई जोगाउन लम्पीस्कीन विरुद्ध खोप दिन थालिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । 

लम्पीस्कीन विरुद्धको खोप खरीदका लागि गाउँपालिकाले ४लाख बजेट विनियोजन गरेको र २ हजार ५ सय डोज खोप खरीद गरेको गाउँपालिकाको पशु स्वास्थ्य शाखामा कार्यरत प्राविधिक दिपकसिंह बोहराले बताए । 

Atrya hospital

लम्पीस्कीन भाइरल रोग भएकाले घरपालुवा पशुचौपायाहरुलाई बचाउन प्रत्यके वडामा खोप लगाउने कार्य भइरहेको बोहराले बताए । लम्पीस्कीनबाट गाई–गोरु बढी प्रभावित भएकाले पहिलो चरणमा किसानहरुले पालेका गाईगोरु र बाच्छाबाच्छीहरुमा खोप लगाउने कार्य भइरहेको बोहराले बताए । 

पञ्चेश्वर गाउँपालिकाभित्र किसानहरुले पालेका गाई–गोरु झण्डै ६ हजार भएपनि पहिलो चरणमा सबै वडाका २ हजार ५ सय गाईगोरुलाई खोप लगाउने कार्य भइरहेको हो । लम्पीस्कीन रोगबाट किसानहरुले क्षति व्यहोर्न नपरोस भनेर खोप खरीदका लागि बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष चन्दले बताए । 

लम्पीस्कीन रोगबाट पञ्चेश्वरमात्रै गत बर्ष ७ हजारजति पशुचौपाया प्रभावित भएका थिए भने १ सय ३० पशुचौपाया मरेका थिए । 

बैतडीमा गत साउनसम्म लम्पीस्कीनबाट ७१ हजार ९४० पशुचौपाया प्रभावित भएको तथ्यांक छ भने १ हजार ३४० पशुचौपाया मरेका थिए । 

लम्पीस्कीन भाइरल रोग भएकाले यसबाट पशुचौपायाहरुलाई बचाउन खोप लगाउनुपर्ने आवश्यता रहेको भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका प्रमुख श्यामसिंह खड्काले बताए । उनले भने ‘लम्पीस्कीन भाइरल रोग हो । यसबाट पशुचौपायलाई जोगाउन खोप लगाउनुपर्ने हुन्छ ।यो महामारीको रुपमा फैलन सक्ने सम्भावना कायमै रहेको छ ।’

भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसंग खोप खरीदका लागि थोरैमात्र बजेट रहेको खड्काले बताए । आपतकालिन अवस्थामा केही डोज खोप खरीद गर्न सकिने उनले बताए । 

लम्पीस्कीन विरुद्धको खोप खरीदका लागि पालिकाहरुले नै बजेटको व्यवस्थापन गर्नुपर्ने उनले बताए । बैतडीमा पञ्चेश्वर गाउँपालिकाले आफ्नै बजेटबाट खोप खरीद गरेर लगाउने कार्य शुरु गरिसकेको उनले बताए । 

गाईगोरुहरुमा लम्पीस्कीन रोग देखिएमा शरीरमा गीर्खा हुने, शरीर सुन्निने, पशुचौपायाहरुले र्याल काढ्ने, शरीरका विभिन्न भागमा संक्रमण हुने र अन्त्यमा पशु चौपाया मर्नेसम्मको अवस्था देखिने गर्दछ । 
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update