Sagun Khabar
रोकिएन बालविवाह, २० बर्ष नपुग्दै आमा बन्नेको संख्या बढ्दै 

बैतडी –बालविवाह न्यूनीकरणका लागि जिल्लाभरी अभियान सञ्चालनमा रहेको भएपनि बालविवाह अझै रोकिएको छैन् । मागेर हुने बालविवाह रोकिएपनि भागेर बालविवाह गर्नेको संख्या बढ्दै गएको पाइएको छ । 

सुर्नया गाउँपालिकाले गर्भवती आमाहरुका लागि निशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालन गरेका बेला २० बर्षमुनिका १९ जना गर्भवतीहरु रहेका पाइएको हो । १६५ जना गर्भवती महिलाको अल्ट्रासाउण्ड गरिएकोमा १९ जना २० बर्षमुनिका रहेका पाइएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । उनले भने ‘अझै पनि बालविवाह रोकिएको छैन् । भागेर हुने बालविवाह चुनौतीको रुपमा अगाडि आएको छ । २० बर्षमुनि गर्भवती हुनु आमा र बच्चा दुवैका लागि जोखिमपूर्ण हुन्छ ।’

Atrya hospital

आमा बचाउ अभियान अन्तर्गत पालिकाका ८ ओटै वडामा गर्भवती आमाहरुका लागि निशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिएको महराले बताए । शिविर सञ्चालनका बेला २० बर्षमुनिका गर्भवती आमा समेत चेकजाँचका लागि आएका उनले बताए । 

बालविवाहले पार्ने समस्याका बारेमा जानकारी दिनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेका भएपनि बालविवाह अझै रोक्न नसकिएको शिखरपुर स्वास्थ्यचौकीका इञ्चार्ज बिरबहादुर बोहराले बताए । २० बर्षमुनि विवाह गर्दा किशोरावस्थामै आमा बन्नेहरुको संख्या बढ्दै गएको उनले बताए । 

किशोरावस्थामै आमा बन्नु निकै जोखिमपूर्ण रहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । गर्भावस्थामा देखिने जटीलताहरु २० बर्ष मुनि गर्भ रहेकाहरुमा अन्यको तुलनामा बढी देखिने गरेको छ । किशोरावस्थामै आमा बन्नका लागि शारीरिक, मानसिक र अन्य हिसाबले समेत जोखिमपूर्ण रहेको शंकरपुर स्वास्थ्यचौकीकी अनमी सुनिता भट्टले बताइन् । 

चालु आर्थिक बर्षको मंसिरसम्म जिल्लाभरी २० बर्षमुनिका १ सय २३ जना आमाहरुले गर्भजाँच गराएको स्वास्थ्य कार्यालयको तथ्यांक रहेको छ । यसै अवधिमा २० बर्षमुनिका ९६ आमाहरुले बच्चा जन्माएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपीन लेखकले बताए ।  
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update