Sagun Khabar
हमासको कब्जामा रहेका भनिएका विपिन जोशीको अवस्था अझै अज्ञात

बैतडी- इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका भनिएका विद्यार्थी विपिन जोशीको अवस्था अझै थाहा हुन सकेको छैन । लडाकु समूह हमास र इजरायलबीच भइरहेको युद्धको तीन महिना पूरा भइसक्दा समेत जोशिको अवस्था अज्ञात रहेको छ ।

गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण शुरु गरेको थियो । त्यसबेला १० जना नेपालीसहित केहीले ज्यान गुमाएका थिए । हमासले नेपालका विपीन जोशीसहित २ सय ५० जनालाई बन्धक बनाएको थियो । पछि अस्थायी युद्धविरामका क्रममा केहीलाई मुक्त गरे पनि विपीनसहित एक सय ३२ जना अझै हमासको नियन्त्रणमा रहेका अनुमान छ । 

नेपालले यो बीचमा बैतडीको दोगडाकेदार गाउँपालिका –१ रीम मूल घर भई हाल कञ्चनपुर बस्दै आएका विपिन जोशीको रिहाइका लागि केही प्रयास गरे पनि अवस्था अझै थाहा हुन सकेको छैन । 
परराष्ट्रमन्त्री एनपी साउदले जोशीको रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताउँदै आउनुभएको छ । इजरायल सरकारसँग अनि प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग पटक–पटक आग्रह÷अनुरोध गरिएको उहाँको भनाइ छ । 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयकाअनुसार अक्टोबर ७ तारिखमा लडाइँ शुरु भएयता इजरायलबाट झण्डै २२ हजार ७ सयभन्दा धेरै मानिस मारिएका छन् । इजरायलको आक्रमणबाट विस्थापित हुनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update