Sagun Khabar
उच्च शिक्षा अध्ययन गर्नेको संख्या कम हुँदै, क्याम्पसमा विद्यार्थी पाउनै मुस्किल 

बैतडी –बैतडीमा पछिल्लो समयमा उच्च शिक्षा अध्ययन गर्नेको संख्या कम हुँदै गएको छ । जिल्लामा सञ्चालित क्याम्पसहरुमा हरेक बर्ष विद्यार्थीहरुको संख्या कम हुँदै गएको छ । उच्च शिक्षा प्रदानका लागि खुलेका क्याम्पसहरुमा विद्यार्थीहरुको अभाव रहेको छ । 

विगतको तुलनामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या कम हुँदै गएको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीका प्रमुख डा. सुरेन्द्रकुमार बमले बताए । जिल्ला सदरमुकाममा रहेको जगन्नाथ बहुमुखी क्याम्पसमै उच्च शिक्षा अध्ययन गर्नेहरुको संख्या कम हुँदै गएको उनले बताए । 

जगन्नाथ बहुमुखी क्याम्पसमा हरेक बर्ष भर्ना हुने विद्यार्थीहरुको संख्या कम हुँदै गएको छ । रोजगारमूलक शिक्षाको अभ्यास नहुँदा उच्च शिक्षा अध्ययन गर्नेको संख्या कम हुँदै गएको क्याम्पस प्रमुख बमको भनाइ छ । उनले भने ‘अहिले विदेशतिर जानेको संख्या बढ्दै गएको छ । पढेर के गर्ने भन्नेहरुको संख्या बढ्दै गएको छ ।’

Atrya hospital

जगन्नाथ बहुमुखी क्याम्पसमा मात्रै नभएर जिल्लामा सञ्चालित अन्य क्याम्पसहरुमा समेत विद्यार्थीको अभाव रहेको छ । कतिपय ठाउँमा विद्यार्थीको अभावमा क्याम्पसहरु बन्द समेत भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका ६ स्थित शंकर बहुमुखी क्याम्पस र दशरथचन्द नगरपालिका २ स्थित निङ्गलाशैनी क्याम्पस विद्यार्थी अभावमा बन्द भएका छन् । 

केही बर्ष सञ्चालन भएको शंकर बहुमुखी क्याम्पसमा विद्यार्थी नभएपछि क्याम्पस बन्द हुन पुगेको क्याम्पस प्रमुख विनोद पन्तले बताए । 

विद्यार्थीको अभावमै बन्द भएको सुर्नया गाउँपालिका ५ स्थित रौलाकेदार बहुमुखी क्याम्पस फेरि यो बर्षदेखि सञ्चालनमा ल्याइएको छ । 

जिल्लाको तल्लोसोराड क्षेत्रको मुख्य क्याम्पसको रुपमा रहेको मणिलेक बहुमुखी क्याम्पसमा पनि विद्यार्थीहरुको संख्या न्यून रहेको उपप्राध्यापक भीम धामीले बताए । पछिल्लो समयमा उच्च शिक्षा अध्ययन गर्नेहरुको संख्या कम हुँदै गएको उनले बताए । उनले भने ‘स्नातक तहसम्म अध्ययन गर्नेको संख्या निकै कम हुँदै गएको छ । भर्ना भएकाहरुले पनि बीचमै छोड्ने प्रवृति बढेको छ ।’

जिल्लामा सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसको रुपमा जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी, पाटन बहुमुखी क्याम्पस पाटन र मणिलेक बहुमुखी क्याम्पस मेलौली सञ्चालनमा रहेका छन् । 

यस्तै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त क्याम्पसको रुपमा शाहीलेक शिक्षा क्याम्पस, कुलाउ क्याम्पस, पुर्चौंडी बहुमुखी क्याम्पस, श्रीकोट बहुमुखी क्याम्पस, सिगास शिक्षा क्याम्पस र सेटीगाउँ बहुमुखी क्याम्पस सञ्चालनमा रहेका छन् । 

सबै जसो क्याम्पसहरुमा विद्यार्थीहरुको संख्या कम हुँदै गएको छ । स्नातक तहमा अध्ययन गर्नेको संख्या हरेक बर्ष कम हुँदै गएको पाटन बहुमुखी क्याम्पसका प्रमुख विनोद भण्डारीले बताए । 
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update