Sagun Khabar
अढाई दशकपछि पूरा हुँदै सुर्नयाबासीको सडक सपना 

बैतडी –आर्थिक बर्ष २०५५÷५६ सालमा सतबाँझ –श्रीभावर सडकको निर्माण कार्य शुरु भएपनि अढाई दशपछि सडक निर्माणले तीव्रता पाएको छ । वामपन्थी नेता स्वर्गीय पृथ्वीराज अवस्थीले सतबाँझ–श्रीभावर सडक जिल्लाको छोटो मार्ग हुनेभन्दै वकालत गरेका थिए । उनकै परिकल्पना अनुसार आर्थिक बर्ष २०५५÷५६ मा सतबाँझ –श्रीभावर सडकको शिलान्यास गरिएको थियो । 

बैतडीको भारतसँग जोडिएको सीमा नाका झुलाघाट पुग्ने छोटो मार्गको रुपमा विकास गर्ने उद्देश्यले सडक शिलान्यास गरिएको भएपनि अडाई दशकपछि मात्रै यो सडक निर्माण कार्यले तीव्रता पाएको छ । सडक शिलान्यास गर्ने बेलामा तत्कालिन जिल्ला विकास समितिका सभापति परमानन्द भट्टले ५ बर्षभित्रै सडक निर्माणले पूर्णता पाउने विश्वास गरेका थिए । तर यो सडकले पूर्णता पाउन अढाई दशक समय व्यतित गरेको छ । 

२०७२ सालसम्म ४ किलोमिटर मात्रै ट्रयाक ओपन गरिएको उक्त सडक पछिल्लो समयमा प्रदेश गौरवको योजनामा समावेश भएको छ । सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक अहिले प्रदेश गौरवको योजनाको रुपमा रहेको पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर नरेश भुलले बताए । उनले भने ‘बैतडीको प्रदेश गौरवको योजनाको रुपमा रहेको सतबाँझ–श्रीभावर सडकमा अहिले निर्माण कार्य तीव्र रुपमा चलिरहेको छ । चालु आर्थिक बर्षदेखि थप १४किलोमिटर कालोपत्रे र २० किलोमिटर स्तरोन्नतीको काम भइरहेको छ ।’

Atrya hospital

‘पहिला–पहिला यो बाटो भएर पैदल हिड्नेहरुको निकै लामो लाइन लाग्ने गरेको थियो । कहिले सडक पुग्ला भनेर भन्ने गरिन्थ्यो । अहिले आफ्नै जीवनकालमा सडक पुगेपछि खुसी लागेको छ ।’स्थानीय अर्जुनसिंह मडैले भने, ‘सतबाँझ –श्रीभावर सडक निर्माणले तीव्रता पाएपछि यो क्षेत्रको विकासमा टेवा पुग्ने आसा पलाएको छ ।’

सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक अन्तर्गत सतबाँझदेखि ६ किलोमिटर कालोपत्रेको काम अन्तिम चरणमा रहेको छ । सुर्नयाको गाँडागाउँदेखि थप १४ किलोमिटर कालोपत्रेको ठेक्का सम्झौता यो बर्ष भएको छ । सिद्धबाबा निर्माण सेवाले ४८ करोडमा उक्त सडक कालोपत्रे गर्ने ठेक्का पाएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर नरेश भुलले बताए । 

यस्तै सुर्नया गाउँपालिका–५ कठेगौंडादेखि ढोल्यामोड जोड्ने उद्देश्यसहित सडक स्तरोन्नती कार्य भइरहेको उनले बताए । २० किलोमिटर स्तरोन्नती गर्ने कार्य अन्तर्गत सडक फराकिलो बनाउनुका साथै ट्रयाक नखुलेको ठाउँमा ट्रयाक खोल्ने काम शुरु भइसकेको इन्जिनियर भुलले बताए । सडक स्तरोन्नतीको काम जागृति–मुनाल–टक्सार जेभीले १२ करोडको लागतमा गरिरहेको छ । 

१४ किलोमिटर कालोपत्रे र २० किलोमिटर स्तरोन्नती भएपछि  सतबाँझ–श्रीभावर सडक सुधार हुने अपेक्षा गरिएको छ । यी दुवै काम सम्पन्न भएमा सुर्नयाबासीलाई मात्रै नभएर छिमेकी पालिका र जिल्लालाई समेत सहज हुने सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । उनले भने ‘यो सडक सुर्नयाबासीको लाइफलाइनको रुपमा रहेको छ । यो सडक निर्माण कार्यले पूर्णता पाएपछि यहाँका नागरिकलाई मात्रै नभएर छिमेकी पालिका र बझाङका नागरिकलाई समेत सहज हुनेछ ।’

सडक कालोपत्रे र स्तरोन्नतीको काम सञ्चालन भएपछि स्थानीयमा विकासको आसा पलाएको रौलेश्वर मावि रामकी बरायलका प्रधानाध्यापक गोपालसिंह मडैले बताए । यो सडकमा स्तरोन्नतीको काम शुरु भएसँगै सुर्नया गाउँपालिका ८ ओटै वडा सडक सञ्जालमा जोडिने उनले बताए । 

सदरमुकाम जोड्ने छोटो मार्गको रुपमा रहेको यो सडकलाई झुलाघाट नाका जोड्ने सहजमार्गको रुपमा समेत लिइएको छ । सडक निर्माण सम्पन्न भएमा यो सडकबाट बैतडीमात्रै नभएर बझाङका नागरिक समेत लाभान्वित हुने शंकर संस्कृत मावि मूलखटालीका प्रधानाध्यापक रामबहादुर बिष्टले बताए । 

सतबाँझ–श्रीभावर सडक निर्माण कार्य सम्पन्न भएमा बैतडीको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिक बढी लाभान्वित हुनेछन् भने बझाङबाट बैतडी पुग्ने नागरिकहरुलाई समेत सहज हुनेछ ।

सतबाँझ –श्रीभावर सडक अन्तर्गत सुर्नया गाउँपालिकाको वडा नं ६ रीगा सम्म जिप सञ्चालनमा रहेका छन् । यस्तै सोही सडकको ढोल्यामोडदेखि हाट सम्म पनि सवारी साधन सञ्चालनमा रहेका छन् । ढोल्यामोड–हाट खण्डमा पनि सडक स्तरोन्नती र कालोपत्रेको काम भइरहेको इन्जिनियर भुलले बताए । 

1b1704597389.jpg

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update