Sagun Khabar
बैतडीमा पुसमै फुल्यो लालीगुराँस 

बैतडी –फागुन–चैतमा फुल्ने लालीगुराँस बैतडीका वनपाखाहरुमा पुसमै फुलेको छ । लेकाली क्षेत्रहरुमा फागुन –चैतमा फुल्ने लालीगुराँस पुसमै फुलेको स्थानीयहरुले बताएका छन् । 

जिल्लाको दशरथचन्द नगरपालिका १ मुस्याचोर, सतबाँझ क्षेत्रमा पुसमै लालीगुराँस फुलेको स्थानीय मानबहादुर टेरले बताए । प्रजाति र ठाउँको उचाइअनुसार लालीगुराँस विभिन्न समयमा फुल्न सक्ने विज्ञले बताउँदै आएका छन् । बैतडीका सबैजसो ठाउँमा फागुन–चैतमा लालीगुराँस फुल्ने भएपनि केही बर्षदेखि मंसिर–पुसमै लालीगुराँस फुल्न थालेका स्थानीय बुढापाकाहरुको भनाइ रहेको छ । 

Atrya hospital

जलवायु परिवर्तनका कारण छिटै लालीगुराँस फुल्न थालेका विज्ञहरुको भनाइ रहेको छ । समुद्री सतहबाट १ हजार ३०० मिटरदेखि ३ हजार २ सय मिटरको उचाइमा पाइने लालीगुराँस फुल्ने समय फागुन, चैत महिना भएपनि छिटै फुल्न थालेको स्थानीयहरुको भनाइ रहेको छ । 

फागुन–चैतमा लालीगुराँस फुलेर राताम्य हुने वनपाखाहरुमा अहिले पुसमै लालीगुराँस फुलेका छन् । लालीगुराँसका सबै रुखहरु एकै पटक फुल्दा निकै रमणीय दृश्य देखिने भएपनि पछिल्लो समयमा मंसिर पुसमै लालीगुराँस फुल्न थालेपछि त्यस्तो रमणीय दृश्य समेत देख्न नपाइएको स्थानीयहरुको भनाइ रहेको छ । 

तीस वर्षको औसत हावापानीमा हुने परिवर्तनलाई जलवायु परिवर्तन भन्ने गरिएको छ । समुद्री सतहमा वृद्धि हुनु, पृथ्वीको तापक्रम बढ्दै जानु र वर्षा प्रक्रियामा अनियमितता आउनु नै जलवायुजन्य परिवर्तन हो । 

पृथ्वीको औसत तापक्रम बढ्दै गएपछि फागुन चैतमा फुल्ने लालीगुराँसका फूल मङ्सिर– पुसमै देख्न सकिने जलवायु विज्ञको भनाइ छ । जलवायुजन्य प्रकोपका हिसाबले नेपाल विश्वको चौथो सङ्कटासन्न राष्ट्र हो । 


 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update