Sagun Khabar
यो बर्ष बैतडीका थप ५ हजार घरधुरीमा विद्युत विस्तार हुने 

बैतडी –यो बर्ष बैतडीका थप ५ हजार घरधुरीमा विद्युत विस्तार हुने भएको छ । जिल्लाका विभिन्न स्थानीय तहहरुमा विद्युत विस्तारको काम जारी रहेकाले थप ५ हजार घरधुरी विद्युतको पहुँचमा जोडिने नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । 

जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा विद्युतीकरणको काम भइरहेकाले चालु आर्थिक बर्षभित्र ५ हजार घरधुरीमा विद्युत विस्तार हुने बताइएको छ । यस्तै जिल्लाको सुर्नया, दोगडाकेदार र सिगास गाउँपालिकाका विभिन्न वडाहरुमा विद्युतीकरणको काम भइरहेको पौडेलले बताए । 

Atrya hospital

बैतडीमा अहिले २२ हजार बढी विद्युतका ग्राहक रहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार बैतडीमा ४९ हजार ४२८ घरपरिवार रहेका छन् । 

ग्रामीण क्षेत्रहरुलाई प्राथमिकतामा राखेर विद्युत विस्तारको काम भइरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पौडेलले बताए । उनले भने ‘हामीले ग्रामीण बस्तीहरुलाई प्राथमिकतामा राखेर विद्युतीकरणको काम गरिरहेका छौं ।’

बैतडीलाई दुई बर्षभित्रै पूर्ण विद्युतीकरण जिल्ला बनाउने उद्देश्यले काम भइरहेको पौडेलले बताए । यसका लागि विभिन्न प्रोजेक्टहरु सञ्चालनमा रहेका उनको भनाइ छ । 

यस्तै जिल्लाको सिल्लेगडा र बिन्द्रावनमा नयाँ सवस्टेशन राख्ने काम शुरु भइसकेको पौडेलले बताए । यस्तै पाटन र मेलौलीमा सवस्टेशन राख्ने काम समेत भइरहेको उनले बताए । पाटन र मेलौलीको काममा ढिलाई भएपनि त्यसलाई पूर्णता दिनका लागि सम्बन्धित ठेकेदारलाई ताकेता गरिएको पौडेलले बताए । 
 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update