Sagun Khabar
सतबाँझ–श्रीभावर सडकमा नयाँ ट्रयाक खोल्ने काम शुरु 
तस्बिर :सतबाँझ –श्रीभावरको नयाँ ट्रयाक खोल्ने कामको शुरुवात गर्न पुगेका सुर्नया गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरसहितका जनप्रतिनिधि

बैतडी –प्रदेश गौरवको योजनाको रुपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक अन्तर्गत ट्रयाक खोल्न बाँकी रहेको ठाउँमा ट्रयाक खोल्ने कार्य शुरु भएको छ । 

सुर्नया गाउँपालिका वडा नं ७ र ८ को बीचमा झण्डै साढे तीन किलोमिटर ट्रयाक खोल्ने बाँकी रहेकाले उक्त खण्डमा ट्रयाक खोल्ने काम आजदेखि शुरु भएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । आज कार्यक्रमकाबीच ट्रयाक खोल्ने कार्यको उद्दघाटन समेत गरिएको छ । 

सुर्नया गाउँपालिकाको कठमडादेखि ट्रयाक खोल्ने कार्यको शुरुवात गरिएको हो । सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडकमा सुर्नया गाउँपालिकाको कठेगौंडादेखि थप २० किलोमिटर स्तरोन्नतीका लागि ठेक्का सम्झौता भएर काम शुरु भएको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ । जागृति टक्सार मुनाल जेभीसँग १४ करोड ७६ लाखमा स्तरोन्नती कार्यका लागि ठेक्का सम्झौता भएको र सोही ठेक्का अन्तर्गत नयाँ ट्रयाक खोल्ने कार्य शुरु भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर नरेश भुलले बताए । 

सडक स्तरोन्नती कार्य अन्तर्गत नयाँ ट्रयाक खोल्ने कामलाई प्राथमिकता राख्न निर्माण कम्पनीलाई भनेपछि निर्माण कम्पनीले नयाँ ट्रयाक खोल्ने कार्य शुरु गरेको इन्जिनियर भुलले बताए । उनले भने ‘हामीले स्तरोन्नती गर्ने कार्य अन्तर्गत नयाँ ट्रयाक खोल्ने कार्यलाई प्राथमिकतामा राख्न निर्माण कम्पनीलाई आग्रह गरेका थियौं । सोही अनुसार काम अघि बढेको छ ।’

२०८२ पौष महिनाभित्र स्तरोन्नतीको काम सक्ने गरेर निर्माण कम्पनीसँग सम्झौता भएको इन्जिनियर भुलले बताए । 

सतबाँझ–श्रीभावर सडकको स्तरोन्नती कार्य अन्तर्गत ट्रयाक खोल्न बाँकी रहेको ठाउँमा ट्रयाक खोल्ने काम शुरु भएपछि पालिकाको वडा नं ७ र ८ का नागरिकलाई सहज हुने पालिका अध्यक्ष कुँवरले बताए । यो सडक आर्थिक हिसाबले समेत महत्वपूर्ण रहेको भन्दै आफूहरुले पनि स्तरोन्नती कार्य अन्तर्गत नयाँ ट्रयाक खोल्ने कार्यलाई प्राथमिकता राख्न आग्रह गरेको र सोही बमोजीम काम शुरु भएको उनले बताए । उनले भने ‘सतबाँझ–श्रीभावर सडक सुर्नयाको मात्रै नभएर अन्य पालिकाहरुका लागि पनि महत्वपूर्ण छ । सुर्नयाका लागि यो लाइफलाइन हो । त्यसैले यो सडक स्तरोन्नतीका कामलाई समयमै सक्न हामीले पालिकाका तर्फबाट गर्ने सबै पहल गर्छौं ।’

सतबाँझ–श्रीभावर सडकमा स्तरोन्नती कार्य शुरु भएपछि यहाँका नागरिकलाई फाइदा हुने सुर्नया गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष मदनराज अवस्थीले बताए । ट्रयाक खोल्ने काम सकिएमा पालिकाका सबै नागरिकको सडकमा पहुँच पुग्ने उनले बताए । 

सतबाँझ –श्रीभाव–हाट–दार्चुला सडक अन्तर्गत १४ किलोमिटर कालापत्रेका लागि समेत ठेक्का भएर काम अघि बढीसकेको पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर नरेश भुलले बताए । सतबाँझ जिरोप्वाइन्टदेखि ६ किलोमिटर कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा रहेको छ । ६ किलोमिटर अगाडिदेखि थप १४ किलोमिटर कालोपत्रेका लागि निर्माण कम्पनीले काम शुरु गरिसकेको भुलले बताए । 

सिद्धबाबा निर्माण सेवाले कालोपत्रेका लागि सर्वेको काम शुरु गरिसकेको छ । आगामी ३६ महिनाभित्र काम गरिसक्ने लक्ष्यसहित ४८ करोडको हाराहारीमा ठेक्का सम्झौता भएको बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update