Sagun Khabar
जाँदा–जाँदै ओली सरकारले २८ प्रतिशतसम्म गाडी भाडा बढायो

काठमाण्डौ – सरकारले लामो दुरीका सार्वजनिक गाडीको भाडा दर बढाएको छ । यातातात व्यवस्था विभागले आज बुधवार सार्वजनिक गरेको सूचनाअनुसार लामो दुरीमा चल्ने गाडीमा २८ प्रतिशत भाडा बढाइएको छ ।

भाडा बढाउनका लागि केपी शर्मा ओली नेतृत्वको सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गएको आइतवार अर्थात् असार २७ गते नै विभागलाई सहमति दिएको थियो । विभागले हिजो मङ्गलवार २९ गतेदेखि नै नयाँ भाडा दर लागू भएको जनाएको छ ।

Atrya hospital

नयाँ भाडा दर अनुसार सार्वजनिक बसको भाडा २८ प्रतिशतले बढेको छ । यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढेको छ । बढेको भाडादर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ । प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ ।

भाडा बढाउँदा इन्धनको मूल्य वृद्धिलाई ३५ र अन्य सूचकलाई ६५ प्रतिशत आधार मान्ने गरिएको छ । २०७५ सालको असोजमा बढाएयता भाडा समायोजन नगरिएको र योबीचमा इन्धन तथा अन्य पाटपुर्जाको समेत मूल्य धेरै नै बढेकाले यस पटक गाडी भाडा पनि बढाइएको विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिए । 

–उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update