Sagun Khabar
बैतडीका अधिकांश संरचना भूकम्प प्रतिरोधी छैनन् 

बैतडी –लगातार पश्चिमी क्षेत्रमा भूकम्प आइरहेका बेला भूकम्प प्रतिरोधी संरचना नहुँदा मानवीय क्षति र भौतिक क्षति बढ्दै गएको भूकम्पविद्हरुले बताएका छन् । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भूकम्प प्रतिरोधी संरचना नहुँदा भूकम्प आएको बेला ठूलो क्षति हुन सक्ने अनुमान गरिएको छ । 

बैतडी सदरमुकाममा समेत भूकम्प प्रतिरोधी संरचना बन्न सकेका छैनन् । भूकम्प कतिबेला आउँछ भन्ने पूर्वानुमान गर्न नसकिने भएकाले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्ने भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले बताए । 

Atrya hospital

बैतडीका अधिकांश ग्रामीण क्षेत्रमा भूकम्प प्रतिरोधी संरचना नरहेका सुर्नया गाउँपालिकाका इन्जिनियर कपिलदेव भट्टले बताए । पछिल्लो समयमा सरकारी भवन भूकम्प प्रतिरोधी बनाउन थालिएपनि निजी घरहरु अझै भूकम्प प्रतिरोधी बन्न नसकेका उनले बताए । 

स्थानीय तहहरुले भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि भवन आचारसंहिता लागू गरेका छन् । तर सबैले आचारसंहिताको पालना भने गरेका छैनन् । 

जिल्लाका अधिकांश बजार क्षेत्रका संरचना समेत भूकम्प प्रतिरोधी नभएका बेला ग्रामीण क्षेत्रमा झन् समस्या रहेको छ । भवन आचारसंहिता अनुसार अझै घर बनाउने परिपाटी बसी नसकेको इन्जिनियर भट्टको भनाइ छ । बजार क्षेत्रमा समेत आफूखुसी संरचना बनाउँदा त्यसले भोलिका दिनमा समस्या निम्तिने उनले बताए । 

यसअघि सुदूरपश्चिमका डोटी, बाजुरा र बझाङ केन्द्रबिन्दु बनाएर गएका भूकम्पका कारण बैतडीका धेरै घरमा क्षति भएको थियो । धेरैजसो विद्यालय भवनहरु चर्किएका थिए । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण बैतडीमा एक घर भत्किएको छ । 

बैतडीका ग्रामीण क्षेत्रमा पुराना घरहरु भएकाले ठूलो भूकम्प आएमा त्यसले विपद् निम्त्याउन सक्ने आँकलन गरिएको छ । पुराना जीर्ण घरहरु भएकाले ठूलो स्केलको भूकम्प आएमा समस्या हुनसक्ने भूकम्पविद्हरुले औंल्याएका छन् । 

विगत ५ सय बर्षयता पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नआएकाले यो क्षेत्रमा ठूलो भूकम्पको सम्भावना अझै रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तामाङले बताए । भूकम्प प्रतिरोधी संरचना नभएका कारण ठूलो भूकम्प आएमा यो क्षेत्रमा विपद् निम्तिन सक्ने उनले बताए । उनले भने ‘भूकम्प कतिखेर आउँछ भन्ने कुरा थाहा हुँदैन् । तर पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प आएको छैन् । त्यसैले ठूलो भूकम्पको जोखिम रहेको छ । यसबाट हुने क्षति न्यूनीकरणका लागि भूकम्प प्रतिरोधी संरचना निर्माण हुनु आवश्यक छ ।’
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update