Sagun Khabar
इजरायलमा बेपत्ता बैतडीका विपीनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग  आग्रह

बैतडी - सरकारले इजरायलमा बेपत्ता बैतडीका विपीन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कुटनीतिक नियोगहरुसँग आग्रह गरेको छ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै बेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कुटनीतिक नियोग तथा मिसनहरूसँग आग्रह गर्नुभएको हो ।

परराष्ट्रमन्त्री साउदले विपीनको अवस्था पत्ता लगाउन सरकारले सम्भव भएसम्मका सबै संयन्त्र परिचालन गरेको पनि बताउनुभएको छ । हमाससँग सम्बन्ध भएका भनिएका देशहरुसँग पनि कुरा भइरहेको उहाँको भनाइ छ । प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएअनुसार बैतडीको  दोगडाकेदार १ रिमका  विपीन आक्रमणकारी हमास समूहको कब्जामा रहेको हुनसक्ने अनुमान छ ।

Atrya hospital

इजरायलमा रहेको नेपाली दूतावासले पनि बेपत्ता विपीनको खोजी गर्ने काम भइरहेको जनाएको छ । यसैबीच प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परि ज्यान गुमाएका १० मध्ये ५ जना विद्यार्थीको शव सरकारले प्राप्त गरेको छ । तेल अभिभमा रहेको नेपाली दूतावासले विज्ञप्ति निकालेर आक्रमणमा ज्यान गुमाएकामध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार आक्रमणमा परि घाइते भएका ४ मध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका छन् र २ जनाको उपचार भइरहेको छ । यस्तै, इजरायलमा कार्यरत नेपालीमध्ये चार सय जनाभन्दा धेरैले स्वदेश फर्कनको लागि अनलाइन रजिस्ट्रेसन फारम भरेका छन् ।

उनीहरुलाई पनि फर्काउने तयारी भइरहेको सरकारको भनाइ छ । सरकारले २ सय ५४ जना विद्यार्थीलाई इजरायलबाट स्वदेश फर्काइसकेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update